सोमपाल कामीले ‘प्लेयर अफ द म्याच’ पुरस्कारको रकम जनावरको संरक्षणमा दिने

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १४:२२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कर्णाली याक्सलाई जित दिलाएका कप्तान सोमपाल कामीले  ‘प्लेयर अफ द म्याच’ बापत प्राप्त पुरस्कार रकम सडकमा रहेका जनावरको हेरचाह र सुरक्षामा खर्च गर्ने घोषणा गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले पुरस्कार स्वरूप प्राप्त शतप्रतिशत रकम सडकका जनावरको संरक्षणमा काम गर्दै आएकी सिर्जना ठकुरीलाई दिने बताएका हुन्।

कामीले व्यक्तिगत उपलब्धिभन्दा टोलीलाई जित दिलाउन योगदान गर्न पाउनु ठूलो कुरा भएको उल्लेख गरेका छन्। कठिन समयमा आफूलाई साथ दिने र विश्वास गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले कर्णाली याक्सको जर्सी लगाएर फ्रेन्चाइजका लागि खेल्न पाउनु सम्मानको विषय भएको बताएका छन्।

‘यो जर्सी लगाएर यस फ्रेन्चाइजका लागि खेल्नु र संघर्ष गर्नु मेरो लागि ठूलो सम्मानको कुरा हो। तर महानता बाँड्दा अझ बढ्छ,’ उनले लेखेका छन् । पुरस्कार रकम जनावरको संरक्षणमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले हरेक सानो कदमको महत्त्व हुने बताएका छन्।

बिहीबार भएको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको थियो। विराटनगरले दिएको १८६ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।

कर्णालीको जितमा कप्तान सोमपालले निर्णायक भूमिका खेलेका थिए। उनले बलिङतर्फ ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएका थिए भने ब्याटिङमा ३२ बलमा अविजित ६२ रन बनाएका थिए।

कर्णालीले ५७ रन बनाउँदा ५ विकेट गुमाएर दबाबमा परेको अवस्थामा सोमपालले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्‍याएका थिए । मैदानमा उत्कृष्ट प्रदर्शनसँगै पुरस्कार रकमसमेत सामाजिक सेवामा समर्पित गर्ने उनको घोषणाले खेलकुदसँगै मानवीय र पशु कल्याणको सन्देश दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.