
अमेरिका । अमेरिकाको फ्लोरिडा राज्यमा निजी जेट विमान दुर्घटनामा पर्दा नौ जनाको मृत्यु भएको छ । पाम बीच काउन्टीमा आइतबार भएको दुर्घटनामा विमानमा रहेका सबैको ज्यान गएको अमेरिकी यातायातमन्त्रीले पुष्टि गरेका छन् ।
टेक्ससको अस्टिनबाट बहामासतर्फ उडेको लियरजेट ६० विमान स्थानीय समयअनुसार दिउँसो १२ः५० बजे क्रेस्टहेभन क्षेत्रनजिकै दुर्घटनाग्रस्त भएको हो । दुर्घटनास्थल राष्ट्रपति डोनाल्ड ट्रम्पको मार–आ–लागो रिसोर्टबाट करिब १४ किलोमिटर टाढा पर्छ ।
संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार विमान आवासीय तथा व्यावसायिक क्षेत्र हुँदै जाने छ लेनको मिलिटरी ट्रेल सडकमा खसेको थियो । विमान खस्दा सडकमा ठूलो खाल्डो परेको र विमानका टुक्राहरू आसपास छरिएको तस्बिर सार्वजनिक भएका छन् ।
दुर्घटनाअघि विमान तीव्र गतिमा उचाइ गुमाउँदै जमिनतर्फ झरेको देखिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक ड्यासबोर्ड क्यामेराको दृश्यमा विमान सडकमा बजारिएलगत्तै ठूलो आगलागी भएको देखिन्छ ।
दुर्घटनापछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले घटनास्थलनजिकै रहेको ट्रेलर पार्कका करिब ६ सय बासिन्दालाई सुरक्षित स्थानमा सारेका छन् । पत्रकार सम्मेलनमा फ्लोरिडाका गभर्नर रोन डिसेन्टिससहित स्थानीय अधिकारीहरूले उद्धार तथा सुरक्षा व्यवस्थापनबारे जानकारी दिएका थिए । दुर्घटनाको कारणबारे भने थप अनुसन्धान भइरहेको छ ।

























