
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलको राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’ र त्यहाँका जनताका लागि ‘अपमानजनक’ भनेका छन् ।
वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले निर्वाचनमा आफूले कुनै उम्मेदवारको पक्ष नलिएको बताए । तर निर्वाचनका घटनाक्रमबारे टिप्पणी गर्न कठिन भएको उनको भनाइ थियो ।
ब्राजिलमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले दक्षिणपन्थी प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै राष्ट्रपति निर्वाचन जितेका छन् । मतगणना लगभग सम्पन्न हुँदा लुलाले ५०.८ प्रतिशत र फ्लाभियोले ४९.२ प्रतिशत मत प्राप्त गरेका थिए ।
यस जितसँगै वर्कर्स पार्टीका ८० वर्षीय लुला चौथोपटक राष्ट्रपति बन्ने भएका छन् । उनी जेलमा रहेका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा तथा लिबरल पार्टीका नेता फ्लाभियोसँग प्रतिस्पर्धामा थिए ।
लुलाको जित निर्वाचनपूर्वका सर्वेक्षणविपरीत आएको थियो । ती सर्वेक्षणमा फ्लाभियोलाई झिनो अग्रता देखाइएको थियो । यसअघि पहिलो चरणको मतदानमा ३९ वर्षीय फ्लाभियोले लुलालाई करिब दुई प्रतिशत विन्दुले पछि पारेका थिए ।

























