सरकार लोकतन्त्रलाई कमजोर बनाउँदै छ: एमाले महासचिव पोखरेल

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार १७:१४

रुपन्देही । नेकपा  (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै राज्य सञ्चालनको जिम्मेवारीमा रहेकाहरूले नै लोकतान्त्रिक मूल्य र मान्यतालाई कमजोर बनाइरहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपालले सोमबार  रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारका गतिविधि र नेतृत्वको अभिव्यक्ति राज्य सञ्चालनको गरिमाअनुकूल नभएको टिप्पणी गरे । कार्यकारी पदमा रहेका व्यक्तिहरू थप जिम्मेवार र संयमित हुनुपर्नेमा राज्य सञ्चालनलाई बालबालिकाको भाँडा कुटी खेल जस्तो बनाइएको उनको आरोप थियो ।

पोखरेलले विद्यार्थी संगठन, ट्रेड युनियन, व्यावसायिक संघसंस्था र सञ्चारमाध्यममाथि सरकारी हस्तक्षेप बढेको दाबी गरे । लोकतन्त्रमा संगठन खोल्ने, आफ्ना विचार राख्ने र व्यावसायिक गतिविधि सञ्चालन गर्ने अधिकार कुण्ठित गर्न खोजिएको उनको भनाइ थियो ।

उनले विश्वविद्यालय तथा क्याम्पसमा विद्यार्थी र ट्रेड युनियनका गतिविधि नियन्त्रण गर्ने, व्यावसायिक संस्थालाई कार्यक्रम नगर्न निर्देशन दिने तथा सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई पक्राउ गर्ने जस्ता घटनाले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाएको बताए ।

सरकारको कार्यशैलीले मुलुकको लोकतान्त्रिक प्रणाली र संवैधानिक संस्थाहरूको भूमिका समेत कमजोर बनाएको पोखरेलको टिप्पणी थियो । सरकार बाह्य शक्तिको प्रभावमा परिचालित भइरहेको हो कि भन्ने आशंका पनि बढेको उनले बताए ।

भूराजनीतिक प्रतिस्पर्धाका बीच सरकारको नेतृत्वले अपनाइरहेको नीतिले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई जोखिममा पार्न सक्ने उनको भनाइ थियो । उनले राज्य र सरकार आफ्नो जिम्मेवारीअनुसार सञ्चालन हुन नसकेको भन्दै लोकतान्त्रिक व्यवस्थाको भविष्यप्रति चिन्ता व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.