करण र रसिदको विस्फोटक ब्याटिङमा काठमाडौं गोर्खाजको जित

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १६, सोमबार १६:४१

विराटनगर । कप्तान करण केसी र रसिद खानको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौंले अन्तिम २ बल बाँकी छँदै १८१ रनको कठिन लक्ष्य पूरा गर्दै रोमाञ्चक जित निकालेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो। जवाफमा काठमाडौंले १९.४ ओभरमा ६ विकेटको क्षतिमा १८४ रन जोड्दै लक्ष्य पूरा गर्‍यो । अन्तिम पाँच ओभरमा ६९ रन जोडेको काठमाडौंको जितमा करण र रसिदको विस्फोटक ब्याटिङ निर्णायक बन्यो।

काठमाडौंका लागि रसिद खानले ३३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए। कप्तान करण केसीले २० बलमा ४ चौका र ३ छक्काको मद्दतमा ४४ रन जोड्दै टोलीलाई जितको नजिक पुर्‍याए । पाँचौँ विकेटका लागि करण र रसिदले मात्र २४ बलमा ५० रनको आक्रामक साझेदारी गरेका थिए। उनीहरू आउट भएपछि जहानदाद खानले १० बलमा अविजित २२ र सन्तोष यादवले ३ बलमा अविजित ५ रन जोड्दै काठमाडौंलाई जित दिलाए।

लक्ष्य पछ्याउने क्रममा काठमाडौंको सुरुवात कमजोर रह्यो। ओपनर डेभिड वार्नर १६ र स्मित पटेल ९ रनमा आउट भएपछि टोली दबाबमा परेको थियो। मोहम्मद आदिल आलमले २० रन बनाए पनि भीम सार्की ५ रनमा आउट हुँदा काठमाडौं ८९ रनमा चार विकेट गुमाएर संघर्ष गरिरहेको थियो। त्यसपछि करण र रसिदले आक्रामक ब्याटिङ गर्दै खेलको दिशा परिवर्तन गरे।

यसअघि कर्णालीका लागि अरिफुल इस्लामले २२ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए। हुसेन तलतले ४०, पवन सर्राफले अविजित ३० र गुलशन झाले २० रनको योगदान दिए। काठमाडौंका करण केसीले २ विकेट लिए भने शहाब आलम, जहानदाद खान, देव शाह र सन्तोष यादवले समान एक विकेट हात पारे। कर्णालीका कप्तान सोमपाल कामीले २ विकेट लिँदा हुसेन तलतले पनि २ विकेट लिए। मार्क वाट र नन्दन यादवले समान एक विकेट लिए । उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका करण र अर्धशतक बनाएका रसिद काठमाडौंको जितका मुख्य नायक बने।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.