
विराटनगर । निर्माणमा ढिलासुस्ती र समयमै काम नसक्ने प्रवृत्तिबीच मोरङको रतुवामाई नगरपालिकामा एउटा पुल तोकिएको समयभन्दा १० महिना अगावै निर्माण सम्पन्न भएको छ।
रतुवामाई–८ स्थित जनता बाँध क्षेत्रमा डाम्राभिट्टा बजारदेखि पूर्व भुल्काडोभा जोड्ने सडकअन्तर्गत कटनु खोलामा निर्माण गरिएको २५ मिटर लामो आरसीसी टी–गर्डर पुल सम्झौता अवधिभन्दा १० महिना अगावै सम्पन्न भएको हो।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले नवनिर्मित पुलको उद्घाटन गर्दै समयअगावै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण कम्पनी र स्थानीयको सहकार्यको प्रशंसा गरे। उनले अधुरा योजनालाई गति दिन सरकार लागिरहेको भन्दै पुल निर्माणले सकारात्मक सन्देश दिएको बताए ।
पुल निर्माणपछि वर्षायाममा कटनु खोलाको बाढी जोखिम मोलेर आवतजावत गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ। यसले विद्यार्थीको विद्यालय आवतजावत, कृषि उपज ढुवानी तथा स्थानीयको बजार पहुँच सहज बनाउने अपेक्षा गरिएको छ।
स्थानीय प्रेमबहादुर अधिकारीले चार दशकदेखिको पुल निर्माणको सपना पूरा भएको बताए। पुलका लागि निःशुल्क जग्गा उपलब्ध गराएका अधिकारीले वर्षौंदेखि काठ र बाँसको पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपरेको स्मरण गर्दै खुसी व्यक्त गरे।
कुल ६ करोड ५३ लाख १७ हजार ६२६ रुपैयाँ लागतमा निर्माण भएको पुलको ठेक्का थानी–लेखराज–बुढाथोकी जेभीले पाएको थियो। १७ मिटर गहिरो पाइल फाउन्डेसन, ६ मिटर क्यारिजवे र दुवैतर्फ १।२ मिटर फुटपाथसहित पुल निर्माण गरिएको हो।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गणेश उप्रेतीले स्थानीय र जनप्रतिनिधिको निरन्तर पहलबाट आयोजना सम्पन्न भएको बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मिलन आचार्यले निर्धारित समयभन्दा अगावै काम सम्पन्न गर्ने निर्माण कम्पनीको प्रशंसा गर्दै यस्तो कार्यशैलीलाई प्रोत्साहन गरिने बताए।
रतुवामाई–८ का वडाध्यक्ष पुष्पबहादुर कार्कीले पुल निर्माणसँगै जोखिमपूर्ण बाँसको पुलबाट आवतजावत गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको बताए।



















