धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवस मनाइँदै

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार ०७:२०

काठमाडौं । आयुर्वेद चिकित्सा पद्धतिका प्रवर्तक भगवान् धन्वन्तरीको स्मरण गर्दै शनिबार (आज) देशभर धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै छ। यस अवसरमा आयुर्वेदको महत्त्व, प्राकृतिक उपचार पद्धति र स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने उद्देश्यले देशका विभिन्न स्थानमा पूजा आराधना तथा विविध कार्यक्रम आयोजना गरिँदै छ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती भगवान् धन्वन्तरीको उत्पत्ति भएको धार्मिक विश्वाससँग जोडिएको छ। त्रयोदशी तिथिमै धन्वन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आजकै दिन पर्व मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

वैदिक सनातन हिन्दु धर्मग्रन्थअनुसार देवता र असुर मिलेर नागलाई नेती तथा मन्दराचल पर्वतलाई मदानी बनाई समुद्र मन्थन गर्दा कात्तिक कृष्ण त्रयोदशीका दिन हातमा अमृत कलश लिएर भगवान् धन्वन्तरी प्रकट भएका थिए। रोगबाट पीडित मानव समुदायलाई निरोगी बनाउने उद्देश्यले अमृत कलशसहित उत्पत्ति भएका धन्वन्तरीलाई आयुर्वेद चिकित्साका प्रवर्तकका रूपमा पुज्ने गरिन्छ।

वनजङ्गलमा पाइने जडीबुटी तथा प्राकृतिक स्रोतमा आधारित प्राचीन वैदिक चिकित्सा पद्धति आयुर्वेदको महत्त्व उजागर गर्ने दिनका रूपमा पनि धन्वन्तरी जयन्तीलाई लिइन्छ। यस दिन आयुर्वेद क्षेत्रका चिकित्सक तथा स्वास्थ्यकर्मीले सत्संकल्प गर्दै शुभ कार्य प्रारम्भ गर्ने परम्परा छ।

नेपालमा नरदेवीमा आयुर्वेद क्याम्पस स्थापना भएपछि विधिवत् रूपमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। तत्कालीन राजकीय आयुर्वेद महाविद्यालयका रूपमा स्थापना भएको उक्त क्याम्पस विसं २०२९ देखि त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत आंगिक क्याम्पसका रूपमा सञ्चालनमा आएको थियो। हाल क्याम्पस कीर्तिपुरमा रहेको छ।

आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीलाई आरोग्यता दिवसका रूपमा समेत मनाउन थालिएको हो। हातमा आयुर्वेदको पुस्तक र जडीबुटी धारण गरेका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रको संस्थापक मानिन्छ।

धन्वन्तरी जयन्ती तथा आरोग्यता दिवसका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वरलगायत सरकारी तथा निजी आयुर्वेद संस्थामा विशेष कार्यक्रम आयोजना गरिँदै छ। यस अवसरमा भगवान् धन्वन्तरीको पूजा आराधना पनि गरिने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक श्यामबाबु यादवले जानकारी दिएका छन्।

पछिल्लो समय आयुर्वेदिक औषधिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ। सिंहदरबार वैद्यखाना विकास समितिका अनुसार विगतको तुलनामा आयुर्वेदिक औषधिको माग चार गुणासम्म वृद्धि भएको छ। समितिले उत्पादन गर्ने औषधिको मागसमेत उच्च रहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.