
काठमाडौंं । सुर्खेतमा लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका दुई बहालवाला कर्मचारीसहित चार जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो सुर्खेतको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–१३, करे खोलाबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर–१३ का २३ वर्षीय रूपेश घर्ती मगर, २७ वर्षीय कुमारबहादुर रास्कोटी तथा वीरेन्द्रनगर–१२ का ३२ वर्षीय बालाराम पौडेल र ३५ वर्षीय नवराज चालिसे रहेका छन् ।
प्रहरीका अनुसार सुरुमा रूपेश घर्ती मगरसहित दुई जनालाई ३.१९० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको थियो । उनीहरूमाथि थप अनुसन्धान गर्ने क्रममा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा बालाराम पौडेल र नवराज चालिसेलाई थप ८.८३० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
चारै जनाबाट कुल १२.०२० ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका नवराज चालिसेको साथबाट सशस्त्र प्रहरी सहायक हवल्दारको परिचयपत्र र रूपेश घर्ती मगरको साथबाट सशस्त्र प्रहरी परिचरको नियुक्तिपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत राखिएको प्रहरीले जनाएको छ ।

























