‘प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य छैन’

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १८:०४

विराटनगर । राज्य सञ्चार क्षेत्रप्रति अनुदार बन्दै गएको भन्दै पत्रकारहरूले प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेपविरुद्ध एकजुट हुन आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा विराटनगरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने पत्रकार तथा विभिन्न संगठनका प्रतिनिधिहरूले सञ्चार क्षेत्रले भोगिरहेका समस्या र चुनौतीका बारेमा चिन्ता व्यक्त गर्दै राज्यको भूमिकाप्रति असन्तुष्टि जनाएका हुन् । उनीहरूले सञ्चारमाध्यम र पत्रकारमाथि हुने हस्तक्षेपले लोकतन्त्रको आधारभूत मान्यता कमजोर बनाउने भन्दै प्रेस स्वतन्त्रताको संरक्षणका लागि पत्रकारहरूबीच साझा धारणा र एकता आवश्यक रहेको बताए ।

पत्रकारिताको व्यावसायिक मर्यादा जोगाउन पनि संगठनगत स्वार्थभन्दा माथि उठ्नुपर्ने उनीहरूको भनाइ थियो । प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नभएको वक्ताहरुले बताए ।

महासंघका कोशी प्रदेश अध्यक्ष भरत खड्काको अध्यक्षता तथा अग्रज पत्रकार शिवबहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सञ्चार प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष दीपक दाहाल, महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष यज्ञ शर्मा, पूर्वकेन्द्रीय सदस्य गणेश लम्साल, प्रदेश सल्लाहकार विवेक गौतम, मोरङ अध्यक्ष सुशीला पाठक, प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, प्रेस चौतारीका केन्द्रीय सदस्य सुमन सुस्केरा, प्रदेश महासचिव बाबुराम भण्डारी र प्रेस सेन्टरका कोशी प्रदेश महासचिव गोकुल पराजुलीलगायतले धारणा राखेका थिए ।

कार्यक्रममा सञ्चारकर्मी सञ्चार सहकारी लिमिटेडका अध्यक्ष महाप्रसाद खतिवडा र पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष रविन कट्टेललगायतले पनि चाडपर्वको शुभकामना दिँदै सञ्चार क्षेत्रका समस्या समाधानमा सम्बन्धित पक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा महासचिव हिमाकुमारी चेम्जोङले तिहारको अवसर पारेर हरेक वर्ष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिँदै आएको जानकारी दिइन् ।

यस्ता कार्यक्रमले पत्रकारबीच आत्मीयता, सहकार्य र संगठनात्मक सम्बन्ध बलियो बनाउने उनले बताइन् । औपचारिक कार्यक्रमपछि पत्रकारहरूले देउसीभैलोका गीतमा नाचगान गर्दै चाडपर्वको खुसी साटेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.