मोरङमा मतदानस्थल र केन्द्रको पुनरावलोकन हुँदै

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १५:४८

विराटनगर । आगामी निर्वाचनलाई लक्षित गर्दै मोरङमा मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन प्रक्रिया अघि बढाइएको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकमा जिल्लाका विभिन्न मतदान केन्द्रको अवस्थाबारे छलफल भएको हो ।

बैठकमा साँघुरा मतदान केन्द्रको व्यवस्थापन गर्ने, खुला स्थानमा रहेका मतदान केन्द्रलाई भवनमा सार्ने तथा नाम परिवर्तन भएका विद्यालयमा रहेका मतदानस्थलको विवरण अद्यावधिक गर्नुपर्ने सुझाव आएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालका अनुसार बैठकमा मोरङका १० वटा स्थानीय तहका १९ वटा मतदान केन्द्रबारे छलफल भएको थियो । छलफलका क्रममा मतदान केन्द्र साँघुरो भएको, मतदानस्थल खुला स्थानमा रहेको, केन्द्र समायोजन गर्नुपर्ने र मतदानस्थल सार्नुपर्ने विषय उठेको उनले बताए ।

त्यसैगरी, मतदानस्थल रहेका केही विद्यालय बन्द भएकाले अन्यत्र सार्नुपर्ने र विद्यालयको नाम परिवर्तन भएकाले अभिलेख सच्याउनुपर्ने सुझाव पनि आएको छ । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार मोरङमा हाल ३०६ वटा मतदानस्थल छन् । पुनरावलोकनपछि मतदानस्थल तथा मतदान केन्द्रको सङ्ख्या थपघट हुन सक्ने उनले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको अध्यक्षतामा बसेको बैठकमा राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो । समितिले जिल्लाभरका मतदानस्थल तथा मतदान केन्द्रको अवस्थाबारे छलफल गरी आवश्यक सुझावसहित निर्वाचन आयोगमा सिफारिस गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.