कांग्रेस आधिकारिकता विवादमा बिचौलियाको हल्ला पत्याउनु हुँदैन: शर्मा

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १६:२७

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया विधि र विधानअनुसार सम्पन्न भएको दाबी गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले महाधिवेशन प्रतिनिधिहरूको सहभागितामा सबै प्रक्रिया इमानदारीपूर्वक अघि बढाइएको बताए ।

पार्टीको आधिकारिकता विवादमा बिचौलियासँग आर्थिक लेनदेन भएको आरोपबारे टिप्पणी गर्दै शर्माले हल्लाका भरमा निष्कर्षमा पुग्न नहुने बताए । सामाजिक सञ्जालमा फैलिएका निराधार हल्लाकै आधारमा कुनै विषयलाई विश्वास गर्न नहुने उनको भनाइ थियो ।

पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सभापति गगन थापालाई जोडेर १८ करोड रुपैयाँको चलखेल भएको आरोप लागेको छ । सोही विषयलाई लक्षित गर्दै शर्माले प्रश्न गरे, ‘एउटा बिचौलियाले कहीँ भन्यो अरे भन्दैमा त्यसलाई अदालतले मान्छ कि मान्दैन ? कानुनले मान्छ कि मान्दैन ? सामाजिक सञ्जालका मान्छे त्यसैको होहल्लामा कुद्नुहुन्छ कि हुँदैन ?’

उनले कांग्रेस अब सभापति गगन थापाको नेतृत्वमा योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने बताए । देशको परिवर्तनका लागि सपना बोकेका थापालाई सभापति बनाएर पार्टीलाई नयाँ दिशा दिनुपर्नेमा उनले जोड दिए ।

केन्द्रीय समितिका नेताहरू पार्टीको सङ्गठन र आगामी योजनालाई व्यवस्थित रूपमा अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै शर्माले हतार नगरी अध्ययन, मेहनत र संवादका माध्यमबाट काम गर्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.