मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २८, शनिबार १२:०४

जनकपुरधाम । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा आजदेखि सुरु भएको छ । कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने यो पर्व १० दिनसम्म मनाइन्छ । ११औँ दिन अर्थात् पूर्णिमाको राति सामाचकेवाको विसर्जन गरेपछि पर्व समापन हुन्छ ।

पर्वका अवसरमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै गाउँटोलका चौबाटो, दोबाटो र सार्वजनिक स्थानमा सामाचकेवा खेल्ने गर्छन् । पर्व सुरु हुने दिन बिहानै महिलाहरू समूहमा गीत गाउँदै गाउँका खेत तथा भीरमा पुग्छन् । त्यहाँ दाजुभाइको हातबाट माटो खनाएर ल्याउने चलन छ । सोही माटोबाट सामाचकेवा बनाइन्छ । बनाइएका आकृति बेलुकासम्म सुकाएपछि विभिन्न रङले सजाइन्छ ।

रङ्गीचङ्गी सामाचकेवालाई रातो रङको बाँसको डालामा राखेर दियो बालिन्छ । त्यसपछि गाउँका चौक, चौराहा, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर तथा छठघाटमा लगेर १० दिनसम्म गीत गाउने र नाच्ने गरिन्छ । यस क्रममा दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गरिने जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताए ।

सामाचकेवा खेल्ने क्रममा महिलाहरू समूहमा ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चंपा फूल लगाइदिय’ र ‘सामचको सामचको अइहा हो, अइहा हो, गुँढ खेतमे भसिया हो’ लगायतका परम्परागत गीत गाउँछन् ।

११औँ दिन बिहानै सामाचकेवाका आकृतिलाई पुनः रङरोगन गरी दिनभरि सुकाइन्छ । साँझ दहीचिउरा खुवाएर दाजुभाइको फार भराउने र उनीहरूबाट सामाचकेवा फुटाउन लगाउने चलन छ । त्यसपछि बाजागाजा र गीतनादसहित गाउँको वनमा रहेको जोतिएको खेतमा लगेर सामाचकेवाको विसर्जन गरिन्छ । यससँगै पर्वको समापन हुने जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बताए ।

सामाचकेवा पर्व मनाउँदा दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र आर्थिक समृद्धि हुने तथा दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध थप प्रगाढ हुने जनविश्वास छ । मिथिलाञ्चलका महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा र पर्सालगायत जिल्लामा यो पर्व लोकप्रिय छ । सीमावर्ती भारतीय क्षेत्र सीतामढी, पटना, दरभङ्गा, मुजफ्फरपुर र मधुबनीमा पनि सामाचकेवा मनाइन्छ ।

छठ पर्वको सन्ध्याकालीन अर्घ्य दिनुभन्दा एक दिनअघि सामाचकेवा पर्व सुरु हुने भएकाले छठको तयारीसँगै यस पर्वको तयारी पनि गरिने जलेश्वर–६ की ३० वर्षीया विनिता देवीले बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.