
सर्लाही । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाले सर्लाहीको सुन्दरपुर गाउँलाई गहिरो शोकमा डुबाएको छ ।
एउटै दुर्घटनामा गाउँका १२ जनाको ज्यान गएपछि उनीहरूको शुक्रबार राति लखन्देही नदीमा सामूहिक दाहसंस्कार गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका आफन्तका शव गाउँ आइपुग्दा सुन्दरपुरमा रुवाबासी चलेको थियो । राति अबेरसम्म पनि मृतकप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न स्थानीय तथा सर्वसाधारणको भिड लागेको थियो । आफन्त गुमाएकाहरूको चित्कारले गाउँको वातावरण झनै पीडादायी बनेको थियो ।
एउटै गाउँका १२ जनाको एउटै चितामा एकैपटक अन्त्येष्टि गर्नुपर्ने अवस्था सुन्दरपुरवासीका लागि असह्य पीडाको क्षण बनेको छ । गाउँका घरघरमा शोक छाएको छ भने आफन्त, छिमेकी र चिनजानका व्यक्तिहरूले समेत आफूलाई सम्हाल्न सकेका छैनन् ।
दुर्घटनामा ज्यान गुमाएका सुन्दरपुरका १३ जनामध्ये १२ जनाको शव गाउँ ल्याइएको थियो । एक जना भने पछिल्लो समय सदरमुकाम मलंगवास्थित वडा नम्बर ४ मा बसोबास गर्दै आएका थिए । उनको शव मलंगवा–४ लगिएको र अन्त्येष्टि पनि त्यहीँ गरिने जनाइएको छ ।
एउटै दुर्घटनाले एकै गाउँका १२ परिवारको खुसी खोस्दा सुन्दरपुरमा अहिले पीडा र शोक मात्रै बाँकी छ । मकवानपुरमा भएको दुर्घटनाको चोट सर्लाहीको एउटा गाउँले सामूहिक रूपमा बेहोरिरहेको छ ।



















