
सिराहा । सिराहाको मिर्चैया नगरपालिका-१ मा छठ पर्व मनाउन परिवार गाउँ गएको मौका छोपी अज्ञात समूहले घर तथा किराना पसलमा चोरी गरी आगजनी गरेको छ । आगलागीबाट १० लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
शौर्य सिमेन्ट उद्योगको पूर्वपट्टि रहेको रामकुमार महतोको घर तथा घरमै सञ्चालित किराना पसलमा चोरीपछि आगजनी भएको हो । छठ मनाउन परिवार गाउँ गएको अवस्थामा चोरहरू घर र पसलमा प्रवेश गरी सामान चोरेपछि आगो लगाएर फरार भएको बताइएको छ ।
आगलागीबाट पसलभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन् । आगो फैलिएपछि पसलमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएको थियो । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार घटनामा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । चोरी तथा आगजनीमा संलग्न व्यक्तिको पहिचान र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

























