जनकपुरधाम-अयोध्या साप्ताहिक रेल सेवा सञ्चालन हुने

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार ०९:४७

जनकपुरधाम । भारतको भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने भएको छ । भारतीय सञ्चारमाध्यम ‘द हिन्दू’का अनुसार भारतीय रेल्वे मन्त्रालयले शनिबार नयाँ रेल सेवा सञ्चालन गर्ने घोषणा गरेको हो ।

करिब ६०४ किलोमिटर लामो रेलमार्गले जनकपुरधामलाई अयोध्याको क्यान्टोनमेन्ट स्टेसनसँग जोड्नेछ । रेलले बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै यात्रा गर्नेछ । यस रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा स्टपेज रहनेछन् ।

रेल्वे मन्त्रालयका अनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने गरी सेवा सञ्चालन हुनेछ । मन्त्रालयले जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा उल्लेख गर्दै यी दुई धार्मिक तथा सांस्कृतिक महत्त्वका स्थानलाई रेलमार्गबाट जोड्न लागिएको जनाएको छ ।

भारत र नेपालबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ रेल सेवाले दुई देशका समुदायलाई थप नजिक ल्याउने विश्वास व्यक्त गरेको छ । यसअघि गत जुनमा पनि भारत र नेपालबीच जनकपुर–अयोध्या खण्डसहित सीमापार रेल सम्पर्क विस्तार तथा यात्रुवाहक रेल सेवा सञ्चालनका विषयमा छलफल भएको ‘द हिन्दू’ले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.