प्रतीकात्मक तस्बिरकाठमाडौं । दाङमा आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीका अनुसार बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत चौधरीको आज बिहान ६ बजे मृत्यु भएको हो ।
राजपुर गाउँपालिका–२ खालगैरास्थित मटेरियाका चौधरीमाथि सोही ठाउँका ३८ वर्षीय त्रिलोकसिंह कार्कीले शनिबार पेट्रोल छर्केर आगो लगाएका थिए । घटनापछि कार्की फरार भएका थिए । प्रहरीका अनुसार दुवै जना साथी हुन् । उनीहरू सँगै बसेर मदिरा सेवन गरिरहेका बेला भनाभन भएको थियो । त्यसपछि कार्कीले मोटरसाइकलमा हाल्न बोतलमा ल्याएको पेट्रोल चौधरीमाथि खन्याएर आगो लगाएको प्रहरीको भनाइ छ ।
घटनापछि फरार भएका कार्कीलाई प्रहरीले आइतबार लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















