तीन महिनामै साढे दुई अर्बको अलैंची निर्यात

Share this
797shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार १३:००

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ठूलो अलैंचीको निर्यात ५३.१९ प्रतिशतले बढेर दुई अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । साउनदेखि असोजसम्म नेपालबाट एक हजार ४४९ टन ठूलो अलैंची निर्यात भएको छ । गत आर्थिक वर्ष नेपालले १२ अर्ब ६४ करोड रुपैयाँ बराबरको ६ हजार ३९५ टन ठूलो अलैंची निर्यात गरेको थियो ।

विश्व बजारमा आपूर्ति सीमित हुनु, मूल्य तुलनात्मक रूपमा स्थिर रहनु र दक्षिण तथा पश्चिम एसियाली बजारमा माग कायम रहनुले नेपाली अलैंचीको निर्यात मूल्य बढेको हो । यस वर्ष प्रतिकिलो करिब दुई हजार ५०० रुपैयाँमा मूल्य स्थिर रहेपछि किसानले मूल्य अझै बढ्ने आशामा उत्पादन भण्डारण गरेर राख्नुभन्दा बिक्री गर्न थालेका छन् ।

नेपाली ठूलो अलैंचीको प्रमुख बजार भारत हो । नेपालको कुल ठूलो अलैंची निर्यातमध्ये करिब ९९ प्रतिशत भारत जाने गरेको छ । भारतबाट यो पाकिस्तान र मध्यपूर्वका देशमा पुनः निर्यात हुने गरेको छ । नेपाली अलैंचीको विशिष्ट स्वाद र गुणस्तरका कारण ती बजारमा राम्रो मूल्य पाइने गरेको छ ।

ठूलो अलैंचीसँगै अन्य कृषि उत्पादनको निर्यातमा पनि वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अदुवाको निर्यात ३८.०३ प्रतिशतले बढेर २४ करोड ९३ लाख ६० हजार रुपैयाँ पुगेको छ । यस अवधिमा तीन हजार ४७४ टन अदुवा निर्यात भएको छ ।

व्यापार विज्ञ रविशंकर सैंजुका अनुसार ठूलो अलैंची, अदुवा, जडीबुटी तथा कुकुरका लागि बनाइने चपाउने सामग्री (डग च्यु) जस्ता उत्पादनलाई प्रशोधन र प्याकेजिङ गरेर निर्यात गर्न सके नेपालले उल्लेख्य वृद्धि हासिल गर्न सक्छ । नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरी नयाँ बजारमा पुर्‍याउन सके निर्यातको सम्भावना अझै विस्तार हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.