घरपालुवा जनावरको खानाभित्र साढे ५ किलो हेरोइन, भारतीय नागरिक पक्राउ

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार १२:५८
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

काठमाडौं । घरपालुवा जनावरका लागि प्रयोग हुने खानेकुराको प्याकेटभित्र लुकाएर ल्याइएको साढे ५ किलो हेरोइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको छ । अन्तर्राष्ट्रिय बजारमा करिब २२ करोड रुपैयाँ मूल्य पर्ने उक्त लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवराज टिघारे छन् । थाइल्यान्डबाट काठमाडौं आएका उनको लगेज जाँच गर्ने क्रममा खरायो र बिरालोको खानाको प्याकेटभित्र लुकाइएको सेतो हेरोइन फेला परेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

विमानस्थलमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले टिघारेको सामान शनिबार बिहान नियन्त्रणमा लिएर जाँच गरेको थियो । सोही क्रममा सामान्य रूपमा देखिने घरपालुवा जनावरको आहारका प्याकेटभित्र ठूलो परिमाणमा हेरोइन लुकाएर ल्याइएको खुलेको हो ।

प्रहरी अनुसन्धानका क्रममा टिघारेको विगतको अन्तर्राष्ट्रिय यात्रा विवरणसमेत शंकास्पद देखिएको छ । उनी यसअघि दुई पटक लाओसबाट काठमाडौं हुँदै भारत गएको अभिलेख भेटिएको छ । त्यस्तै, उनको भ्रमण विवरणमा जिम्बाब्वे, सुडान, बंगलादेश र कम्बोडियाको यात्रा पनि उल्लेख छ ।

यी यात्रा विवरण र लागुऔषध ओसारपसारको शैलीका आधारमा उनी अन्तर्राष्ट्रिय लागुऔषध कारोबार गर्ने गिरोहसँग जोडिएको हुन सक्ने प्रहरीको आशंका छ । पक्राउ परेका टिघारेमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.