फलाम-स्टिल र जुटको निर्यात बढे पनि भारतीय शुल्कको दबाब

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार १२:००

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालबाट फलाम तथा स्टिलजन्य वस्तु र जुटजन्य सामग्रीको निर्यात उल्लेख्य बढेको छ । तर, भारतले लगाएको सुरक्षा तथा एन्टी डम्पिङ शुल्कका कारण यी उद्योगको निर्यातमा थप चुनौती देखिएको छ ।

साउनदेखि असोजसम्म फलाम तथा स्टिलजन्य वस्तुको निर्यात ३६९.४२ प्रतिशतले बढेर चार अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात भएको थिएन भन्ने होइन, नेपालले पूरै आर्थिक वर्षमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरका फलाम तथा स्टिलजन्य वस्तु निर्यात गरेको थियो । यद्यपि पछिल्लो समय भारतले सुरक्षा शुल्क (सेफगार्ड ड्युटी) लगाएपछि नेपाली फलाम तथा स्टिलजन्य वस्तुको निर्यात दबाबमा परेको छ ।

त्यस्तै, समीक्षा अवधिमा जुट तथा जुटजन्य वस्तुको निर्यात ३९.९१ प्रतिशतले बढेर तीन अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षभरि नेपालले १० अर्ब ७८ करोड रुपैयाँ बराबरका जुटजन्य वस्तु निर्यात गरेको थियो । भारतले नेपाली जुटजन्य उत्पादनमा प्रतिटन एन्टी डम्पिङ शुल्क बढाउने निर्णय गरेपछि नेपालको जुट उद्योग थप दबाबमा परेको छ । विशेषगरी पूर्वी नेपालमा सञ्चालित जुट उद्योग यसबाट प्रभावित भएका छन् ।

भारतको वित्त मन्त्रालयले ८ असोज २०८३ (२४ सेप्टेम्बर २०२६) मा जारी गरेको सूचनाअनुसार बोरा बुन्ने मोटो कपडा, जुटका बोरा तथा जुटको धागो र डोरीमा उत्पादन र उत्पादकअनुसार फरक-फरक दरमा शुल्क निर्धारण गरिएको छ ।

यसै अवधिमा नेपाली हस्तनिर्मित कागजको निर्यात पनि १६ प्रतिशतले बढेर ४१ करोड ७० लाख २० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षभरि नेपालले एक अर्ब २१ करोड रुपैयाँ बराबरको हस्तनिर्मित कागज निर्यात गरेको थियो । निर्यातमा वृद्धि देखिए पनि छिमेकी बजारमा लाग्ने शुल्क र नीतिगत अवरोधले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमतामा असर पार्न सक्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.