
म एउटा सर्वनाम हुँ कि अस्तित्व ?
व्याकरणको एउटा अक्षर,
कि अनन्त शून्यताको गर्भमा
आफ्नै परिचय खोजिरहेको
एउटा अनाम चेतना ?
म कहाँबाट आएँ ?
कसले पठायो मलाई
यो अनन्त समयको यात्रामा ?
मेरो आँगन छ,
मेरो गाउँ छ,
मेरो देश छ,
मेरो पृथ्वी छ,
मेरो सूर्य छ,
मेरो आकाशगङ्गा छ ।
तर यो विशाल ब्रह्माण्डमा
मेरा भनिएका यी सबैको
मापन गर्ने कुनै अन्तिम मापन छैन ।
दुई आकाशगङ्गाबीचको दूरीमा
म कहाँ छु ?
दुई ताराबीचको अन्धकारमा
मेरो अस्तित्व कति छ ?
सूक्ष्मतम कणको सूक्ष्मताभित्र
मलाई खोज्न सकिन्छ कि सकिँदैन ?
कि म खोज्ने प्रक्रियाकै
एउटा अनाम प्रश्न हुँ ?
मुक्ति खोजिरहेको छु म,
तर बन्धन के हो, थाहा छैन ।
ईश्वर खोजिरहेको छु,
तर खोज्ने म को हुँ, थाहा छैन ।
जन्म र मृत्युको अर्थ खोजिरहेको छु,
तर जन्मनुअघि कहाँ थिएँ,
मृत्युपछि कहाँ हुन्छु,
थाहा छैन।
सायद म यात्री हुँ,
सायद बाटो हुँ,
सायद गन्तव्य हुँ,
सायद यी तीनै होइन ।
म त यतिबेला
आफैँलाई खोजिरहेको,
आफैँसँग अपरिचित
एउटा यायावर हुँ ।
यही यायावर पनि हुँ कि होइन,
त्यो पनि थाहा छैन ।
मभित्रको ‘म’ लाई…
बस्…!



















