उत्पादन बढे पनि चिराइतोको मूल्य घट्दा किसान चिन्तित

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार १०:३४

भोजपुर । उत्पादन बढेको समयमा बजार मूल्य घटेपछि भोजपुरका चिराइतो किसान चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य प्रतिमन पाँच हजारदेखि १० हजार रुपैयाँसम्म घटेको छ ।

टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन (४० केजी) २० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष यही समयमा प्रतिमन २५ हजारदेखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो ।

यस वर्ष चिराइतो उत्पादन भने बढेको राउतले बताए । उनका अनुसार तिम्मा क्षेत्रमा मात्रै करिब पाँच सय मन चिराइतो उत्पादन भएको छ । उत्पादन बढे पनि बजार मूल्य घटेकाले किसानले अपेक्षाअनुसार आम्दानी लिन सकेका छैनन् ।

राउतले यस वर्ष हालसम्म करिब दुई सय मन चिराइतो सङ्कलन गरिसकेका छन् । आफ्नै घरमा पनि बिक्रीका लागि करिब १० मन चिराइतो रहेको उनले बताए । उत्पादन भएको चिराइतो बिक्रीका लागि तयार भए पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेको उनको भनाइ छ ।

चीनतर्फको नाका बन्द हुँदा चिराइतोको निकासी तथा बजार कारोबार प्रभावित भएको र त्यसले मूल्य घटाएको राउतको भनाइ छ । बजारमा माग र बिक्रीको अवस्था कमजोर हुँदा उत्पादन बढे पनि किसानले राम्रो मूल्य पाउन नसकेको उनले बताए ।

चिराइतो भोजपुरका पहाडी तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने महत्वपूर्ण जडीबुटीजन्य नगदे बाली हो । यहाँका किसानले व्यावसायिक खेतीसँगै प्राकृतिक रूपमा उम्रिएका चिराइतो सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । ग्रामीण क्षेत्रका किसानका लागि यो आम्दानीको महत्वपूर्ण स्रोत बनेको छ ।

चिराइतोको उत्पादन, सङ्कलन, ओसारपसार र बिक्रीमा स्थानीय व्यवसायीसमेत संलग्न छन् । तर बजार मूल्यमा हुने उतारचढाव र निकासीमा देखिने समस्याले किसानको आम्दानीमा प्रत्यक्ष असर पार्दै आएको छ । स्थानीय किसानले उत्पादनअनुसार बजारको व्यवस्था र उचित मूल्य पाउने वातावरण बनाउनुपर्ने माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.