
काठमाडौं । धनुषाको धनुषाधामबाट प्रहरीले कटुवा पेस्तोल र एक राउन्ड गोलीसहित एक जना महिलालाई पक्राउ गरेको छ।
सिरहाको कल्याणपुर नगरपालिका–५ निर्धना टोलकी ४० वर्षीया गंगावती महतोलाई कटुवा पेस्तोल र गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामको टोलीले आइतबार बिहान ११ बजेतिर धनुषाधाम नगरपालिका–४ स्थित गौरीपुर टोलबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी महतोको कम्मरमा लुकाएर राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद गरेको प्रहरीले जनाएको छ। महतोले पेस्तोल र गोली लुकाइछिपाई लैजाँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी महतोमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























