एनपीएलसहित अनलाइन सट्टेबाजी गराउने पाँच जना पक्राउ

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ५, शनिबार १८:०१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङबाट पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नेपाली र चार भारतीय नागरिक रहेका छन् ।

लमही नगरपालिका–५, रातोडाँडास्थित जस्मिन होटेल एण्ड लजमा अनलाइन बेटिङ प्लेटफर्म सञ्चालन गरी सट्टेबाजीको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ७ः३० बजे होटेलको तेस्रो तलाका २०३ र २०४ नम्बर कोठा भाडामा लिएर विभिन्न अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबार भइरहेको थियो । सूचनापछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको टोलीले होटेलमा खानतलासी गर्दा सट्टेबाजीको कारोबार गरिरहेको अवस्थामा पाँचै जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले सट्टेबाजीमा प्रयोग गरिएका विभिन्न कम्पनीका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी १८ थान विद्युतीय उपकरणसमेत बरामद गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई बरामद विद्युतीय उपकरणसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमहीमा राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.