
काठमाडौं । इलाममा मेडिकल कलेज (स्वास्थ्य विज्ञान प्रतिष्ठान) स्थापना गर्न इलाम नगरपालिकाले सक्रियता बढाएको छ ।
प्रस्तावित मेडिकल कलेज स्थापनासम्बन्धी आधारपत्र तयार पारेको नगरपालिकाले मेयर केदार थापाको नेतृत्वमा काठमाडौंमा आवश्यक पहल थालेको हो । यसैक्रममा मेयर थापासहितको टोलीले सोमबार शिक्षामन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झालाई भेटेर मेडिकल कलेज स्थापनाका लागि सहयोग गर्न आग्रह गरेको छ ।
मेयर थापाका अनुसार मेडिकल कलेज स्थापनाका लागि अध्ययन टोली गठन गरिएको छ। टोलीमा इलाम नगरपालिका वडा नम्बर ४, ६ र ७ का अध्यक्ष पनि सहभागी छन् । झासँगको भेटमा प्रस्तावित प्रतिष्ठान स्थापनाका लागि आवश्यक सहयोग मागिएको र उनले सकारात्मक रूपमा लिएको थापाले बताए ।
पाँचथर, ताप्लेजुङ, झापा तथा भारतको सिक्किम र दार्जिलिङसम्मका क्षेत्रका लागि इलाम भौगोलिक रूपमा केन्द्रमा पर्ने भएकाले यहाँ मेडिकल कलेज स्थापना उपयुक्त हुने उनको भनाइ छ ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी र सरकारबीच गत कात्तिक २९ गते भएको सहमतिपछि नगरपालिकाले प्रतिष्ठान स्थापनाका लागि आवश्यक तयारी अघि बढाएको हो । सहमतिमा इलाम मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सरकारले बजेट विनियोजन गर्ने विषय समेटिएको छ ।
नगरपालिकाले जग्गा व्यवस्थापन, पूर्वाधार विकास र सेवा विस्तारका विषयमा तयारी गरिरहेको जनाएको छ । प्रस्तावित प्रतिष्ठान स्थापनाका लागि करिब १ हजार ४ सय रोपनी जग्गा आवश्यक पर्ने अध्ययन आधारपत्रमा उल्लेख छ ।
‘हामीले मेडिकल कलेज स्थापनाका लागि आवश्यक पूर्वाधारको तयारी गरेका छौँ । डा. केसीसँगको सम्झौताअनुसार पनि काम गर्नुपर्ने भएकाले केन्द्र सरकारको सहयोग आवश्यक छ,’ मेयर थापाले भने ।
सरकारले सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने नीति लिए पनि मेची क्षेत्रमा अहिलेसम्म मेडिकल कलेज स्थापना हुन सकेको छैन । डा. केसीसँग भएको सहमतिअनुसार इलाममा मेडिकल कलेज स्थापना गर्न सरकारले प्रतिबद्धता जनाएको छ ।
गत कात्तिक २९ गते भएको सहमतिपछि डा. केसीले आफ्नो २५औँ सत्याग्रहका सम्पूर्ण कार्यक्रम अन्त्य गरेका थिए। सहमतिको पाँचौँ बुँदामा इलाम मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सरकारले बजेट विनियोजन गर्ने उल्लेख छ ।



















