
विराटनगर । उद्योग, व्यापार तथा लगानीका सम्भावना खोज्न उद्योग संगठन मोरङले विराट एक्स्पो २०२६ को अवसरमा तीनदिने ‘विराट बिजनेस समिट २०२६’ आयोजना गर्ने भएको छ। समिटमार्फत उद्योग, व्यापार र लगानीका अवसर खोज्न अब संघीय राजधानी वा ठूला सहर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने संगठनको लक्ष्य छ।
आगामी पुस २ देखि ११ गतेसम्म आयोजना हुने नवौँ संस्करणको विराट एक्स्पोअन्तर्गत पुस ५ देखि ७ गतेसम्म विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा समिट सञ्चालन हुनेछ। देशभरका उद्योगी, व्यवसायी, लगानीकर्ता, उत्पादक तथा खरिदकर्तालाई एउटै मञ्चमा जोड्दै व्यावसायिक साझेदारी र लगानीका नयाँ अवसर सिर्जना गर्ने समिटको उद्देश्य रहेको छ।
‘फाइन्ड अपर्च्युनिटी, फाइन्ड अ मार्केट, फाइन्ड अ अपर्च्युनिटी’ अवधारणामा आधारित समिटले लगानीका सम्भावना पहिचान, स्थानीय उत्पादनको बजार विस्तार र व्यावसायिक साझेदारीलाई प्राथमिकता दिनेछ। कार्यक्रममा विभिन्न जिल्ला तथा नगरका उद्योग वाणिज्य संघले आफ्नो क्षेत्रका आर्थिक, औद्योगिक, कृषि, पर्यटन तथा पूर्वाधारसम्बन्धी सम्भावना प्रस्तुत गर्नेछन्।
तीन दिनसम्म सञ्चालन हुने समिटलाई तीन फरक विषयमा केन्द्रित गरिएको छ। पहिलो दिन ‘इन्भेस्ट एन्ड बिल्ड’ अन्तर्गत उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, ऊर्जा, पूर्वाधार तथा लगानीका सम्भावनाबारे छलफल हुनेछ। दोस्रो दिन ‘कनेक्ट एन्ड एक्सपान्ड’ अन्तर्गत बजार विस्तार, निर्यात, खरिदकर्ता–आपूर्तिकर्ता सम्बन्ध र अन्तरप्रदेशीय व्यापारमा केन्द्रित अन्तरक्रिया हुनेछ। तेस्रो दिन ‘इन्फ्लुएन्स एन्ड ग्रो’ अन्तर्गत नीतिगत सुधार, डिजिटल रूपान्तरण, स्टार्टअप, सीप विकास तथा हरित उद्योगका विषय समेटिनेछन्।
समिटमा विभिन्न जिल्ला तथा नगरका १८ वटा उद्योग वाणिज्य संघले आ–आफ्नो क्षेत्रका व्यावसायिक सम्भावना प्रस्तुत गर्नेछन्। प्रत्येक दिन ६ वटा संस्थालाई १५ मिनेटका दरले प्रस्तुतीकरणको अवसर दिइनेछ।
यसका अतिरिक्त समिट स्थलमा ‘अपर्च्युनिटी वाल’ स्थापना गरिनेछ। उक्त वालमा लगानीका परियोजना, उत्पादन, बजार, कच्चा पदार्थ, प्रविधि तथा साझेदारीसम्बन्धी प्रस्ताव र आवश्यकता राखिनेछ। इच्छुक व्यवसायीले त्यहाँबाट सम्भावित साझेदार पहिचान गरी प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।
समिटमा उद्योगी, व्यवसायी, लगानीकर्ता, वित्तीय संस्था, स्थानीय सरकार, उत्पादक, वितरक तथा विभिन्न क्षेत्रका विज्ञबीच अन्तरसंवाद र व्यावसायिक नेटवर्किङ हुनेछ। समिटको अन्तिम दिन उद्योगमैत्री वातावरण निर्माणका लागि नीतिगत तथा संस्थागत सुधारका साझा प्राथमिकता समेटिएको ‘विराट चेम्बर कम्प्याक्ट’ जारी गर्ने तयारीसमेत संगठनले गरेको छ।
उद्योग संगठन मोरङका अनुसार समिटले जिल्लागत तथा क्षेत्रगत सम्भावनालाई राष्ट्रिय र क्षेत्रीय लगानीकर्तासँग जोड्दै व्यापार, लगानी तथा औद्योगिक सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।



















