चिनियाँ प्रविधिमा चितवनमा हाइब्रिड धानको परीक्षण 

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार ०७:५९

चितवन । चीनको कृषि विज्ञान तथा प्रविधिको सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती सफल भएको छ। नेपाल र चीनका कृषि विज्ञको संयुक्त प्रयासमा गरिएको परीक्षणमा प्रतिहेक्टर ६.८६ टन धान उत्पादन भएको जनाइएको छ।

चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा उक्त प्रदर्शन खेती गरिएको हो। चिनियाँ धान विशेषज्ञ वाङ छियानका अनुसार चिनियाँ विशेषज्ञको प्राविधिक सहयोग र दुवै देशका कृषि विज्ञको संयुक्त अनुसन्धानबाट उक्त उत्पादन हासिल भएको हो।

कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्राध्यापक ऋषिराम कट्टेलले चिनियाँ विशेषज्ञले नेपालमा धानको अनुसन्धान तथा परीक्षणका लागि प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्दै सहयोग गरिरहेको बताए। उनका अनुसार आठ सय दिनभन्दा बढी समयको अनुसन्धान र परीक्षणपछि यो उपलब्धि हासिल भएको हो।

छोङछिङ कृषि विज्ञान प्रतिष्ठानका उपाध्यक्ष तान पिङले नेपाल र चीनका वैज्ञानिकबीचको सहकार्यले कृषि क्षेत्रमा सकारात्मक नतिजा दिएको बताए। उनले दुई देशबीचको प्राविधिक सहकार्यले कृषि उत्पादन र अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सन् २०२३ को जुलाईमा छोङछिङ नगरका कम्युनिष्ट पार्टी सचिव युआन चियाजुनको चितवन भ्रमणका क्रममा ‘भविष्य उज्यालो, जीवन्त गाउँ’ कार्यक्रमअन्तर्गत दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क परियोजना सुरु गरिएको थियो।

परियोजनाअन्तर्गत धानखेती, भैँसीपालन र सागसब्जी खेतीका तीनवटा कृषि प्रविधि प्रदर्शन केन्द्र स्थापना गरिएका छन्। परियोजनाले लगातार दुई वर्ष कृषि उत्पादनमा सफलता हासिल गरेको जनाइएको छ। यसबाट लाभान्वित किसानले उत्पादन गरेका सागसब्जी कतारलगायत मध्यपूर्वका देशमा समेत निर्यात गर्न थालेका छन्।

नेपाल र चीनबीचको कृषि प्राविधिक सहकार्यबाट प्राप्त यो उपलब्धिले धानको उत्पादन तथा उत्पादकत्व वृद्धि, आधुनिक खेती प्रविधिको विस्तार र किसानको आयआर्जन बढाउने सम्भावना देखाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.