
भोजपुर । आमचोक गाउँपालिका–१० मा कालो अरिंगालले टोक्दा ६० वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका पन्चु राई रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार मंगलबार दिउँसो २ बजेतिर गाईलाई घाँस काट्न भन्दै घरबाट करिब एक किलोमिटर पश्चिममा रहेको जंगलमा गएका राई घर नफर्किएपछि खोजी गरिएको थियो ।
खोजी गर्ने क्रममा उनलाई जंगलमा लडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका राईको शरीरका २५ देखि ३० ठाउँमा कालो डाम देखिएको थियो ।
उनलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा बुधबार बिहान ९ः२० बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।



















