रतुवामाईमा दुई महिनापछि फेरिइन् प्रमुख प्रशासकीय अधिकृत

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १७:०३

विराटनगर । स्थानीय तहको प्रशासनिक नेतृत्वमा महिलाको सहभागिता बढाउने गरी गरिएको उपसचिव सरुवाको निर्णय मोरङको रतुवामाई नगरपालिकामा भने दुई महिनासम्म कार्यान्वयन हुन सकेन । चार नगरपालिकामा महिला उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइए पनि रतुवामाईमा खटाइएकी शारदा भण्डारी सरुवा भएको करिब दुई महिना बितिसक्दा पनि कार्यालयमा हाजिर नभएपछि मन्त्रालयले उनको स्थानमा अर्को उपसचिव पठाउने निर्णय गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोजको पहिलो साता एकैपटक ४२ जना उपसचिवको सरुवा गर्दा मोरङका चार नगरपालिकामा महिला उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको थियो । स्थानीय तह गठन भएयता पहिलोपटक चार नगरपालिकाले महिला उपसचिवबाट प्रशासनिक नेतृत्व पाउने अवसर पाएका थिए ।

सरुवापछि अन्य तीन नगरपालिकामा खटिएका महिला प्रमुख प्रशासकीय अधिकृतले एक साताभित्रै कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हालिसकेका छन् । तर रतुवामाई नगरपालिकामा खटाइएकी शारदा भण्डारी भने कार्यालयमा उपस्थित भइनन् । एउटै निर्णयबाट सरुवा भएका अन्य अधिकृतले काम सुरु गरिसक्दा रतुवामाईमा भने दुई महिनासम्म पद रिक्त रहनुले सरुवा कार्यान्वयन र प्रशासनिक जबाफदेहितामाथि प्रश्न उठाएको छ ।

भण्डारी कार्यालयमा हाजिर नहुने भएपछि मन्त्रालयले मंसिर २ गते पुनः परिपत्र गर्दै उनको स्थानमा चन्द्रकला चौलागाईं ओलीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने निर्णय गरेको छ ।

यससँगै रतुवामाई नगरपालिकाले पनि महिला उपसचिवबाट प्रशासनिक नेतृत्व पाउने बाटो खुलेको छ । तर यसअघि गरिएको सरुवा लामो समयसम्म कार्यान्वयन नहुनुको कारणबारे भने थप स्पष्टता आवश्यक देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.