इलामका सडक र पुल पुनर्निर्माण गर्न साढे ४ अर्ब बजेट स्वीकृत

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १२, शनिबार ०९:०८

इलाम । प्राकृतिक विपद्‍बाट क्षतिग्रस्त इलामका सडक तथा पुल पुनर्निर्माणका लागि संघीय सरकारले चार अर्ब ४४ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ । सडक डिभिजन इलाममार्फत कार्यान्वयन हुने गरी जिल्लाका ११ वटा सडक तथा पुलसम्बन्धी योजनाका लागि बहुवर्षीय बजेट सुनिश्चित गरिएको हो ।

स्वीकृत बजेटमध्ये चालु आर्थिक वर्ष २०८३/८४ मा खर्च गर्ने गरी ११ करोड १२ लाख रुपैयाँ विनियोजन गरिएको छ । योजनामा विपद्बाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण, वैकल्पिक सडक निर्माण, पहिरो नियन्त्रण र सडक स्तरोन्नतिका काम समेटिएका छन् ।

स्वीकृत योजनामध्ये राजदुवालीमा ११० मिटर लामो पुल र दुई किलोमिटर वैकल्पिक सडक निर्माणका लागि एक अर्ब १० करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ । सिमलगोलाई–तिल्केनी सडकका लागि ८५ करोड र फिक्कल–श्रीअन्तु सडकका लागि ४५ करोड रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै, जोगमाई खोला र पुवा खोला पुल निर्माणका लागि ४०/४० करोड रुपैयाँ स्वीकृत भएको छ । बिब्ल्याटे–माइपोखरी–सन्दकपुर सडक तथा सोही खण्डका पुल निर्माण र पहिरो नियन्त्रणका लागि ८९ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ ।

मेची राजमार्गमा पहिरो नियन्त्रणका लागि २० करोड तथा ठाडे खोला पुल निर्माणका लागि १५ करोड रुपैयाँ स्वीकृत भएको छ । विपद्बाट क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका लागि ठूलो बजेट सुनिश्चित भएसँगै जिल्लाको सडक पूर्वाधार विकास, यातायात सहजता र विपद्को जोखिम न्यूनीकरणमा सहयोग पुग्ने इलाम क्षेत्र नम्बर १ का सांसद निस्कल राईले बताए । सबै राजनीतिक दल र इलामेलीहरुको प्रयासमा जिल्लाका लागि महत्वपूर्ण बजेट विनियोजन भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.