
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेलभित्र रहेका व्यक्तिलाई ज्यान मार्ने धम्की दिएर बयान लिन खोजिएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
कांग्रेस क्षेत्रीय कार्यसमिति, काठमाडौं क्षेत्र नं. ६ ले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले सरकार बनेको आठ महिनामै राज्यसत्ताको दुरुपयोगका घटना दोहोरिन थालेको आरोप लगाए । उनले प्रधानमन्त्रीलाई सरकार सञ्चालन गरिरहेको हो कि गुण्डाराज भन्दै प्रश्न गरे ।
‘सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं सरकार चलाइरहनुभएको छ कि गुण्डाराज गरिरहनुभएको छ ? सरकार यस्तो हुन्छ ? तपाईंको अधीनस्थ, तपाईंको मातहतमा रहेको जेलभित्र कसैलाई ज्यानको धम्की दिएर बयान लिइँदो रहेछ,’ उनले भने ।
जेलभित्र रहेका व्यक्तिलाई ज्यान मार्ने धम्की दिएर बयान दिन बाध्य पारिएको दाबी गर्दै पौडेलले यसमा प्रधानमन्त्रीको निर्देशन भए वा मातहतका कर्मचारीले स्वेच्छाले गरेको भए पनि जिम्मेवारी लिनुपर्ने बताए । ‘सम्माननीय प्रधानमन्त्रीज्यू, यो तपाईंको निर्देशनमा भएको हो कि त्यो भन्नेले आफैँ भनेको हो ? भन्नेले आफैँ भनेको हो भने त्यसलाई कारबाही गरेर निकाल्नुस्। तपाईंकै निर्देशनमा भएको हो भने यो त सरकारमा बसेर गर्न मिल्छ र ?’ उनले प्रश्न गरे ।
पौडेलले यस्तो घटना एउटामा मात्र सीमित नभई निरन्तर दोहोरिरहेको आरोप लगाए। कसैलाई फसाउन वा ठेगान लगाउन जेलभित्र रहेका व्यक्तिलाई धम्की दिएर बयान लिने र प्रक्रियागत औपचारिकता पूरा गर्ने काम भइरहेको उनको दाबी छ ।
‘एउटा घटना होइन । घटनापछि घटना निरन्तर दोहोरिरहेको छ । कसैलाई ठेगान लगाउनुपर्यो भने जेलभित्र रहेका मान्छेहरूलाई धम्की दिएर बयान लिने, रीत पुर्याउने? राज्यसत्ताको दुरुपयोग यो ढंगबाट गर्न मिल्छ ?’ उनले भने ।
जेलभित्र रहेका व्यक्तिको मोबाइल खोसेर आफूलाई आवश्यक पर्ने सामग्री राख्ने र नचाहिने सामग्री मेटाउने गरिएको भन्दै पौडेलले आपत्ति जनाए । ‘मोबाइल खोसेर आफूलाई चाहिने राख्ने, नचाहिने मेट्ने ? यस्तो गर्न मिल्छ ? यस्तो त अहिलेसम्म कहिल्यै हुँदैनथ्यो,’ उनले भने ।

























