‘विदेशी शक्तिको वक्रदृष्टि’ बारे नेपालको चिन्ता

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १२, शनिबार १७:५२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको भूमिलाई कुनै पनि विदेशी शक्तिले छिमेकी मुलुकविरुद्ध सैन्य गतिविधि गर्ने अखडाका रूपमा प्रयोग गर्न नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राष्ट्रियता सङ्कटमा परेको र विदेशी शक्तिहरूले नेपालप्रति वक्रदृष्टि लगाइरहेको दाबी गरे । यसप्रति पार्टीका नेता तथा कार्यकर्ता सचेत र सतर्क हुनुपर्ने उनको भनाइ छ ।

नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिनुपर्नेमा जोड दिँदै उनले प्राकृतिक तथा अन्य स्रोतसाधनको उपयोगका विषयमा पनि देशलाई विवादमा पार्न नहुने बताए । नेपालको भौगोलिक अवस्थाले असंलग्न परराष्ट्र नीतिको आवश्यकता निर्देशित गरेको उल्लेख गर्दै उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुमधुर बनाउनुपर्ने धारणा राखे ।

‘राष्ट्रियताको कुरालाई हामीले सबैभन्दा उच्चतम प्राथमिकता दिइरहेका छौँ । राष्ट्रियता सङ्कटमा छ । विदेशी शक्तिहरूले नेपालमा वक्रदृष्टि लगाइरहेका छन्,’ नेपालले भने, ‘यसप्रति हाम्रो पार्टी र कार्यकर्ताहरू सबैभन्दा पहिला अत्यधिक सतर्क हुनुपर्छ । नेपालको भूमिलाई छिमेकीका विरुद्धमा र आफ्नो सैन्य गतिविधि गर्ने अखडाका रूपमा प्रयोग गर्ने काम कसैले नगरोस् । विभिन्न साधनस्रोतको प्रयोग गर्ने सन्दर्भमा पनि नेपाल कुनै विवादमा नपरोस् ।’

राजनीतिक परिवर्तनका लागि आन्दोलनको महत्त्वपूर्ण भूमिका रहने स्मरण गर्दै नेपालले आन्दोलनबिना परिवर्तन सम्भव नहुने बताए । आन्दोलनले जनतामा चेतना र जागरण सिर्जना गर्ने भएकाले पार्टीले जनपरिचालनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.