
काठमाडौं । नेकपा (एमाले) का नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको मौनतालाई जासुसी उपन्यासको पात्रजस्तै अदृश्य रहेको टिप्पणी गरेका छन् ।
काठमाडौंमा शनिबार आयोजित एमाले रामेछाप-काठमाडौँ सम्पर्क कमिटीको प्रथम अधिवेशनमा बोल्दै भट्टराईले प्रधानमन्त्री शाह कसैसँग नबोल्ने र अन्तर्क्रिया नगर्ने गरेको भन्दै उनको मौनतामाथि टिप्पणी गरेका हुन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिभन्दा प्रधानमन्त्री शाहको मौनता मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेको विश्लेषण गरे । विगतमा अन्य प्रधानमन्त्रीले भारत भ्रमण गर्दा वा यस्तै प्रकृतिका सम्झौता गर्दा विरोध हुने गरेको तर शाहको भ्रमणका क्रममा भने बुद्धिजीवीहरूले प्रशंसा गरेको भन्दै उनले आशङ्का व्यक्त गरे। अदृश्य टुनामुना र तन्त्रमन्त्र धेरै दिन नटिक्ने उनको तर्क थियो ।
भट्टराईले जेनजी आन्दोलनको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको संयोजकत्वमा न्यायिक आयोग गठन गर्नुपर्ने धारणा पनि राखे ।
आगामी स्थानीय चुनावमा गुटबन्दीभन्दा माथि उठेर पार्टी सदस्यको विवेक, स्थानीय अवस्था र तल्लो तहबाट प्राप्त सिफारिसका आधारमा उम्मेदवार छनोट गर्नुपर्ने उनले बताए ।

























