पुस ४ देखि बेलबारीमा नवौँ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप, विजेताले ८ लाख पाउने

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १२, शनिबार १६:३३

विराटनगर । मोरङको बेलबारीमा आगामी पुस ४ गतेदेखि नवौँ बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। डाँगिहाट युथ क्लबको आयोजनामा पुस १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका सात र भारतको एक गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको डाँगिहाट रंगशालामा आयोजना हुने प्रतियोगिताबारे आयोजक क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

क्लबका अध्यक्ष विक्रम बान्तवा राईले बेलबारी क्षेत्रको पहिचान खेलकुदमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको बताए। विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिको संगमस्थलका रूपमा रहेको बेलबारीलाई खेलकुदका माध्यमबाट थप परिचित गराउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

सहरी क्षेत्रमा प्रतियोगिता आयोजना गर्न प्रायोजक तथा आर्थिक सहयोग जुटाउन सहज भए पनि मोफसलको ग्रामीण क्षेत्रमा चुनौतीपूर्ण रहेको अध्यक्ष राईले बताए। स्थानीयवासी, व्यापारी, बेलबारी नगरपालिका तथा विदेशमा रहेका नेपालीको सहयोगबाट आर्थिक कठिनाइका बाबजुद प्रतियोगिताको नवौँ संस्करणसम्म आइपुगेको उनले उल्लेख गरे।

प्रतियोगिताको निरन्तरताले आयोजकको आर्थिक पारदर्शिता र स्थानीयको विश्वासलाई समेत प्रतिबिम्बित गर्ने उनको भनाइ छ। युवालाई खेलकुदप्रति आकर्षित गर्दै प्रतिभावान् खेलाडी उत्पादन र सभ्य समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए। उक्त रंगशालामा दैनिक करिब एक सय खेलाडीले प्रशिक्षण लिँदै आएका छन्।

प्रतियोगितामा आयोजक डाँगिहाट युथ क्लब, सिरहाको सलहेश युवा क्लब, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, प्लानिङ ब्वाइज क्लब, झापाको रेडस्टार क्लब, भोजपुर जिल्ला फुटबल संघ र भारतको मिक्स क्लब खार्साङ सहभागी हुनेछन्।

प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले चार लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट मिडफिल्डलाई जनही १७ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन्।

आयोजकका अनुसार प्रतियोगिताबाट ७६ लाख एक हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ भने सञ्चालनमा ७२ लाख ७४ हजार रुपैयाँ खर्च हुने प्रक्षेपण छ।

रनिङ शिल्डका रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिताको उपाधि यसअघि झापा र काठमाडौंको प्लानिङ ब्वाइज क्लबले एक–एक पटक जितिसकेका छन्। गत संस्करणको फाइनलमा सिरहाको सलहेश युवा क्लबलाई पराजित गर्दै प्लानिङ ब्वाइज क्लबले उपाधि जितेको थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.