
झापा । झापाको दुधेमा आयोजित दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच शनिबार (आज) फाइनल खेल हुँदैछ ।
यसअघि एपीएफले पाहुना टोली भुटानलाई ७–० गोल र घरेलु टोली झापा ११ लाई २–० गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेका हो । आर्मीले भारतको गेसपुर फुटबल एकेडेमीलाई १०–० गोल र गतवर्षको विजेता नेपाल पुलिस क्लबलाई १–० गोल फरकमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
गतवर्ष भएको प्रतियोगिताको पहिलो संस्करणको विजेता नेपाल पुलिस क्लब र उपविजेता एपीएफ क्लब रहेको थियो । पुलिसले एपीएफलाई १–० मा हराउँदै उपाधि जितेको थियो ।

प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो । भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको गेसपुर फुटबल एकेडेमी, आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, झापा–११ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले नगद ११ लाख तथा उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट एकजना खेलाडीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । त्यसैगरी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।



















