
विराटनगर । उद्योग, उत्पादन र लगानीका सम्भावनालाई एउटै मञ्चमा जोड्दै व्यवसाय विस्तार तथा व्यावसायिक साझेदारीका अवसर सिर्जना गर्ने उद्देश्यले विराटनगरमा तीन दिने ‘विराट बिजनेस समिट २०२६’ आयोजना हुने भएको छ।
मोरङ उद्योग संघले पुस २ देखि ११ गतेसम्म आयोजना गर्ने नवौँ विराट एक्स्पोअन्तर्गत पुस ५ देखि ७ गतेसम्म डिग्री क्याम्पस परिसरमा बिजनेस समिट सञ्चालन गर्ने तयारी गरेको हो।
समिटमा देशभरका जिल्ला तथा नगरका औद्योगिक सम्भावना, लगानीयोग्य परियोजना, स्थानीय उत्पादनको बजार विस्तार र अन्तरप्रदेशीय व्यापारका अवसरबारे छलफल गरिनेछ। उद्योगी, व्यवसायी, लगानीकर्ता, वित्तीय संस्था, उत्पादक, खरिदकर्ता तथा वितरकलाई एकै ठाउँमा जोड्ने आयोजकको लक्ष्य छ।
संघका अध्यक्ष नन्दकिशोर राठीका अनुसार समिटको पहिलो दिन लगानी तथा निर्माण, दोस्रो दिन बजार विस्तार र तेस्रो दिन नीतिगत प्रभाव तथा उद्यम विकासका विषयमा केन्द्रित रहेर छलफल हुनेछ।
समिटको मुख्य आकर्षणका रूपमा विभिन्न जिल्ला तथा संस्थाले आफ्ना लगानी र व्यावसायिक सम्भावना प्रस्तुत गर्न सक्ने ‘अपर्च्युनिटी वाल’ रहनेछ। यसमा लगानीका परियोजना, उत्पादन, कृषि, पर्यटन, पूर्वाधार तथा कच्चा पदार्थ आपूर्तिका अवसरसँगै खरिदकर्ता, बजार, प्रविधि र दक्ष जनशक्तिको आवश्यकता प्रस्तुत गरिनेछ।
आयोजकका अनुसार समिटले स्थानीय उत्पादनलाई नयाँ बजारसँग जोड्नुका साथै लगानीकर्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क तथा व्यावसायिक साझेदारी विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
समिटमा देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ र क्षेत्रगत औद्योगिक संघलाई आफ्ना क्षेत्रका आर्थिक तथा औद्योगिक सम्भावना प्रस्तुत गर्ने अवसरसमेत दिइनेछ।
यसपटकको विराट एक्स्पोमा उत्पादनको प्रदर्शनी र बिक्रीसँगै लगानी तथा व्यापारका सम्भावनालाई एउटै मञ्चमा ल्याउने नयाँ प्रयासका रूपमा बिजनेस समिट आयोजना गर्न लागिएको संघले जनाएको छ।



















