
एजेन्सी । दक्षिण सुडानका राष्ट्रपति साल्भा कीरले देशका चार राज्यबाट संकटकाल हटाउने घोषणा गरेका छन् । राष्ट्रिय टेलिभिजनका अनुसार लेक्स, वार्रप, वेस्टर्न बहर एल गजाल र युनिटी राज्यबाट संकटकाल हटाइएको हो ।
यस निर्णयसँगै द्वन्द्व र असुरक्षाका कारण पटक–पटक प्रभावित हुँदै आएको निर्वाचन प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ । लामो समयदेखि प्रतीक्षारत चुनाव आगामी वर्षको फेब्रुअरी ११ मा गर्ने गरी तय गरिएको छ ।
सन् २०११ मा स्वतन्त्र भएको दक्षिण सुडान लामो समयदेखि सामुदायिक हिंसा, चरम गरिबी र राजनीतिक अस्थिरताबाट प्रभावित छ । सरकारले निरन्तरको असुरक्षा नियन्त्रण गर्न नसक्दा निर्वाचनसमेत पटक–पटक स्थगित हुँदै आएको छ ।
दक्षिण सुडान ब्रोडकास्टिङ कर्पोरेसन (एसएसबीसी) ले आफ्नो फेसबुक पोस्टमार्फत राष्ट्रपति कीरले चार राज्यमा संकटकाल हटाएको जानकारी दिएको हो । यद्यपि, निर्णय लिनुको कारणबारे भने कुनै औपचारिक जानकारी दिइएको छैन ।
वार्रप राज्यमा सन् २०२५ देखि सङ्कटकाल लागू गरिएको थियो । त्यहाँ भएका हिंसात्मक सामुदायिक झडपमा सयौँ मानिसको ज्यान गएको थियो । संकटकालका कारण नागरिकको आवतजावतमा समेत प्रतिबन्ध लगाइएको थियो ।
संकटकाल हटाइए पनि वार्रप र युनिटी राज्यमा पछिल्ला महिनाहरूमा हिंसात्मक घटना जारी रहेका छन् । गत अक्टोबरमा युनिटी राज्यको सीमाक्षेत्र नजिक भएको सामुदायिक झडपमा कम्तीमा ७२ जनाको मृत्यु भएको थियो ।
द्वन्द्व अनुगमन संस्था एसीएलईडीका अनुसार वार्रप राज्यमा गत अगस्ट र मार्चमा पनि यस्तै सामुदायिक झडप भएका थिए । ती घटनामा करिब १२० जनाको मृत्यु भएको थियो ।
अन्य तीन राज्यमा संकटकाल कहिलेदेखि लागू गरिएको थियो भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि, नागरिक समाजका अगुवा एडमन्ड याकानीले राष्ट्रपतिको निर्णयको स्वागत गरेका छन् ।
उनले संकटकाल कायम रहँदा निर्वाचन प्रक्रियामा अवरोध पुग्न सक्ने भन्दै त्यसलाई हटाउने निर्णयलाई सकारात्मक कदमका रूपमा व्याख्या गरेका छन् ।
संकटकाल हटाउने निर्णयले दक्षिण सुडानमा निर्वाचनका लागि अनुकूल वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

























