
विराटनगर । विराटनगरमा रहेको नेपाल बिजनेस कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीलाई आइतबार एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ ।
कलेजको विभिन्न संकायअन्तर्गत एमबीए, बीबीए, बिआइटी तथा बीएचएम तहमा भर्ना भएका ३ सय ५० जनाभन्दा बढी विद्यार्थीलाई कलेज परिवारले औपचारिक स्वागत गरेको हो ।

कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूले नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै कलेजको शैक्षिक वातावरण, सिकाइ संस्कार र सहकार्यको संस्कृति परिचय गराएका थिए । समारोहका प्रमुख अतिथि तथा कलेजका संस्थापक अध्यक्ष भेषप्रसाद धमलाले गुणस्तरीय शिक्षासँगै व्यवहारिक र सीपमूलक ज्ञान प्रदान गर्नु कलेजको प्रमुख लक्ष्य रहेको बताए । उनले विद्यार्थीलाई शैक्षिक ज्ञान मात्र नभई नेतृत्व, व्यवस्थापन र जीवन उपयोगी सीपमा सक्ष्म बनाउने प्रतिबद्धता व्यक्त गरे ।
स्वागत कार्यक्रममा विद्यार्थीले नृत्य, गायन तथा फेसन शो जस्ता सांस्कृतिक प्रस्तुतिमार्फत आफ्ना प्रतिभा प्रदर्शन गरेका थिए । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन विद्यार्थीहरूले नै गरेको कलेजले जनाएको छ ।

कलेजका निर्देशक दीपक कोइरालाका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको नेतृत्व क्षमता र संगठनात्मक सीप विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले विद्यार्थीहरूको नेतृत्व क्षमता विकासका लागि कलेजले यसअघि पनि ‘मेगा इभेन्ट’ हरूमा सहजीकरण मात्र गर्ने गरेको प्रस्ट्याए ।
‘७ औं सेमेस्टरका विद्यार्थीहरूले कार्यक्रम आयोजना गर्नुपर्छ र यसको मूल्यांकन शैक्षिक अंकसँग पनि जोडिएको हुने, उनले बताए।

सन् २०१४ देखि सञ्चालनमा आएको नेपाल बिजनेस कलेजबाट हालसम्म ३ सय जनाभन्दा बढी विद्यार्थी उत्तीर्ण (ग्य्राजुएट) भइसकेका छन् । हाल एमबीए तहमा ९ औं ब्याचका विद्यार्थीहरूले अध्ययनरत रहेको कलेजले जनाएको छ । उत्तीर्ण विद्यार्थीमध्ये करिब ७० प्रतिशतले स्वदेशमै रोजगारी प्राप्त गरेका छन् भने केही विद्यार्थी उच्च शिक्षा तथा रोजगारीका लागि विदेश गएका छन् ।
पढाइसँगै अतिरिक्त क्रियाकलाप र सीप विकासलाई प्राथमिकतामा राख्दै आएको कलेजले विराटनगरमा शैक्षिक संस्थाको रूपमा आफ्नो अलग पहिचान स्थापित गर्न सफल भएको छ ।



















