
विराटनगर । केशलिया खोला र आसपासका क्षेत्रमा शौचालयजन्य फोहोर फ्याल्ने तीन वटा ट्यांकर विराटनगर महानगरपालिकाले नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउँसो विराटनगर–६ स्थित केशलिया खोलामा सेफ्टी ट्याङ्कीको फोहोर फालिरहेको अवस्थामा नगर प्रहरीले को १ त ३८८३, को १ त ९४०२ र को २ त ४३७० नम्बरका ट्यांकर नियन्त्रणमा लिएको हो ।
महानगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार सार्वजनिक स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्ने गतिविधि गरेका कारण नियन्त्रणमा लिइएको हो ।
खोलामा मिसाइने शौचालयजन्य फोहोरले हैजा, झाडापखाला लगायतका जलजन्य रोग फैलिने उच्च जोखिम सिर्जना गर्दछ । केशलिया खोलाको पानी स्थानीय कृषकले पशुपालन र सिंचाइमा समेत प्रयोग गर्छन् । यसअघि महानगरले सेफ्टीट्यांकी व्यवसायीहरुलाई खुला स्थान र खोलामा फोहोर नफाल्न निर्देशन दिएको थियो ।


















