
काठमाडौं । देशभरको मौसममा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) बिहान कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली र तराईका अधिकांश क्षेत्रमा मौसम प्रायः सफा रहेको छ । दिउँसो पहाडी र हिमाली क्षेत्रमा बदलीको सम्भावना छ ।
सबै प्रदेशका केही भेगमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ । रातको समयमा पनि पहाडी तथा हिमाली क्षेत्रमा बदली कायमै रहनेछ भने तराईमा आंशिक बदली रहने जनाइएको छ ।
विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा चट्याङसहित वर्षाको सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । महाशाखाले सम्भावित वर्षा, चट्याङ तथा हिमपातबाट हुनसक्ने जोखिमप्रति सतर्क रहन सबैलाई आग्रह गरेको छ ।


















