
रंगेली । मोरङको सुनवर्षी नगरपालिका–६ स्थित खिकिरडाँगी चोक हुँदै पथरी–डाइनियाँ तथा सिक्टी जोड्ने सडक निर्माण कार्य गुणस्तरहीन भएको भन्दै स्थानीयले गम्भीर असन्तुष्टि जनाएका छन् ।
करिब २ किलोमिटर सडक खण्डमा हाल कालोपत्रे गर्ने काम भइरहेको छ । निकिता एन्ड राज कन्स्ट्रक्सनले करिब २ करोड रुपैयाँ लागतमा सडक निर्माणको काम सुरु गरे पनि निर्माण सामग्री र कामको गुणस्तर मापदण्डअनुसार नभएको स्थानीयको आरोप छ । स्थानीय कमल साहका अनुसार ठेकेदार कम्पनीले आवश्यक प्राविधिक मापदण्ड पालना नगरी काम गरिरहेको छ ।
स्थानीय निर्मल उप्रेतीले सडकको कालोपत्रे मोटाई ४० एमएम हुनुपर्ने भए पनि विभिन्न स्थानमा १० देखि १५ एमएम मात्र रहेको दाबी गरेका छन् । उनका अनुसार यस्तो कमजोर निर्माणले सडक ६ महिनादेखि एक वर्षभित्रै भत्किने जोखिम उच्च हुन्छ । ‘करदाताको रकम खेर जाने अवस्था सिर्जना हुने देखिन्छ,’ उनी भन्छन् ।
यसैबीच, कन्स्ट्रक्सनका इन्जिनियर गणेश चौधरीले भने आफूहरूले प्राविधिक मापदण्डअनुसार नै आवश्यक सामग्री प्रयोग गरेर काम गरिरहेको दाबी गरेका छन् । तर, स्थानीयले निर्माणस्थलमा अनिवार्य रूपमा राख्नुपर्ने सूचना पाटी समेत नराखिएको भन्दै आपत्ति जनाएका छन् ।
सार्वजनिक निर्माण कार्यमा पारदर्शिता सुनिश्चित गर्न सूचना पाटी राख्नुपर्ने भए पनि त्यसको पालना नभएको उनीहरूको भनाइ छ । स्थानीयले सडक निर्माणको अनुगमनमा पनि सम्बन्धित जनप्रतिनिधि तथा नगर प्रमुख र उपप्रमुखको सक्रियता नदेखिएको आरोप लगाएका छन् ।
नियमित अनुगमन नहुँदा निर्माण कम्पनीले मनपरी ढंगले काम गरिरहेको उनीहरूको गुनासो छ । सडकको गुणस्तर सुनिश्चित गर्दै तत्काल प्राविधिक परीक्षण र अनुगमन गर्न सम्बन्धित निकायसँग स्थानीयले माग गरेका छन् ।
यदि यस्तै अवस्था रहिरहे निर्माण सम्पन्न भएको छोटो समयमै सडक बिग्रिने निश्चित रहेको स्थानीय बताउँछन् । सिक्टी बोर्डरदेखि डाइनियाँ हुँदै पथरीसम्म २७ किलोमिटरको उक्त सडकको विभिन्न ठाउँमा कालोपत्रेको काम चरणबद्ध रुपमा भइरहेको छ ।



















