कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लबाट शपथ लिँदै महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल ।काठमाडौं । नेपाल सरकारको मुख्य कानुनी सल्लाहकारको रूपमा रहने महान्यायाधिवक्ता पदमा डा. नारायणदत्त कँडेललाई नियुक्त गरेको छ ।
पत्रकारिताबाट करिअर सुरु गरेर कानुनको उच्च प्राज्ञिक उचाइसम्म पुगेका कँडेलको नियुक्तिलाई प्रशासनिक निर्णय मात्र नभई पेसागत विविधता र अनुभवको एउटा उदाहरणका रूपमा पनि हेरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महान्यायाधिवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । नियुक्तिपछि उनले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
यससँगै कँडेलले औपचारिक रूपमा राज्यको सबैभन्दा उच्च कानुनी सल्लाहकारको जिम्मेवारी सम्हालेका छन् । बागलुङको बिहुँमा जन्मिएका कँडेलको पेसागत यात्रा पत्रकारिताबाट सुरु भएको थियो । २०४९ सालदेखि पूर्णकालीन रूपमा पत्रकारिता सुरु गरेका उनले करिब एक दशकभन्दा बढी समय रेडियो नेपाल, राजधानी दैनिक, राष्ट्रपुकार र नेपाल वाणी साप्ताहिकजस्ता सञ्चारमाध्यममा सक्रिय रूपमा काम गरे ।
समाचारदाताका रूपमा काम गर्दा उनले राजनीतिक, सामाजिक र मानव अधिकारका विविध विषयमा रिपोर्टिङ गर्दै आफूलाई स्थापित गरेका थिए । पत्रकारितामै सक्रिय रहँदा उनले नेतृत्वदायी भूमिका पनि सम्हाले । २०५८ देखि २०६० सालसम्म नेपाल पत्रकार महासंघ धौलागिरी शाखाको सभापति बनेर उनले पत्रकारहरूको हकहित र पेसागत मर्यादाका लागि काम गरे ।
बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ समेटिएको उक्त शाखामा उनको नेतृत्वलाई प्रभावकारी रूपमा स्मरण गरिन्छ । तर, पत्रकारितामा लामो समय बिताइसकेपछि उनको रुचि क्रमशः कानुन र न्यायको क्षेत्रमा केन्द्रित हुन थाल्यो । २०६० सालमा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेसँगै उनी औपचारिक रूपमा कानुनी पेसामा प्रवेश गरे। त्यसपछि उनले अदालतमा बहस गर्ने, मुद्दा लड्ने र कानुनी परामर्श दिने कामलाई आफ्नो मुख्य पेसा बनाए ।
शैक्षिक रूपमा पनि कँडेलले आफूलाई निरन्तर उकास्दै लगे । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेपछि उनी उच्च शिक्षाका लागि विदेश गएका थिए । सन् २००७ मा आयरल्याण्डको नेसनल युनिभर्सिटी अफ आयरल्याण्डबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययनमा स्नातकोत्तर गरेका उनले २००९ मा बेलायतको अलस्टर युनिभर्सिटीबाट कानुनमा अर्को स्नातकोत्तर उपाधि हासिल गरे । त्यसपछि उनले बेलायतकै क्विन्स युनिभर्सिटीबाट कानुनमा विद्यावारिधि (पीएचडी) पूरा गरेका हुन् ।
कानुनी अभ्यासका क्रममा उनले अदालतभित्र सीमित भएर मात्रै काम गरेनन् । मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता र कानुनी शासनजस्ता विषयमा पनि सक्रिय रूपमा आवाज उठाउँदै आएका छन् । फ्रिडम फोरम, एम्नेष्टी इन्टरनेसनल र मानव अधिकार तथा शान्ति समाजजस्ता संस्थाहरूसँग सहकार्य गर्दै उनले नागरिक अधिकारका मुद्दामा वकालत गरेका छन् ।
कँडेलको पेसागत यात्रामा अर्को महत्वपूर्ण पक्ष भनेको उच्च प्रोफाइल कानुनी मामिलामा उनको संलग्नता पनि हो । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा कानुनी सल्लाहकारका रूपमा काम गरेका थिए । यसले उनलाई सार्वजनिक रूपमा चिनिने कानुन व्यवसायीका रूपमा स्थापित गर्न सहयोग पुर्याएको थियो ।
उनको नियुक्तिलाई कतिपयले पेसागत विविधताको सकारात्मक उदाहरणका रूपमा लिएका छन् भने केहीले राजनीतिक सन्दर्भमा पनि विश्लेषण गरिरहेका छन् । तथापि, पत्रकारिता, मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको अनुभव बोकेको व्यक्तिको रूपमा उनले महान्यायाधिवक्ताको जिम्मेवारी कसरी निर्वाह गर्छन् भन्ने विषय आगामी दिनमा महत्वपूर्ण हुने देखिन्छ ।
नेपालको कानुनी प्रणालीमा महान्यायाधिवक्ताको भूमिका अत्यन्तै महत्वपूर्ण मानिन्छ । सरकारलाई कानुनी परामर्श दिने, राज्यका तर्फबाट अदालतमा बहस गर्ने र संवैधानिक तथा कानुनी विषयमा मार्गदर्शन गर्ने जिम्मेवारी यस पदसँग जोडिएको हुन्छ । यस्तो संवेदनशील र जिम्मेवार पदमा बहुआयामिक अनुभव बोकेको व्यक्तिको आगमनले केही नयाँ दृष्टिकोण ल्याउने अपेक्षा पनि गरिएको छ ।

























