
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा समस्या नरहेको स्पष्ट पारेका छन् । सरकारलाई पार्टीले दिने सुझाव र रचनात्मक आलोचनालाई लिएर बाहिर चलेका हल्लामा विश्वास नगर्न उनले आग्रह गरेका छन् ।
शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लामिछानेले सरकार आफ्ना प्रतिबद्धता र वाचा पूरा गर्न दृढतापूर्वक अघि बढिरहेको बताए । आफ्नै पार्टी नेतृत्वको सरकारलाई सल्लाह, सुझाव र रचनात्मक आलोचना गर्नु पार्टीभित्रको विवाद वा फुटको सङ्केत नभएको उनको भनाइ थियो ।
रास्वपा लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने दल भएकाले पार्टीभित्र हुने बहस र छलफललाई स्वाभाविक रूपमा लिनुपर्ने उनले बताए । पक्ष र विपक्षमा हुने छलफललाई नेतृत्वले सधैँ सकारात्मक रूपमा लिने गरेको पनि उनले उल्लेख गरे । मधेसको जनमत र विकासबारे बोल्दै लामिछानेले यस पटक जनताले रास्वपालाई ठूलो भरोसाका साथ अवसर दिएको बताए । उनले भने, ‘अहिले पाएको जनमतबाट पनि मधेसले परिवर्तनको आशा र अनुभूति गर्न सकेन भने म अर्को पटक यहाँ भोट माग्न आउने छैन ।’
जनतालाई झुक्याएर भोट माग्ने राजनीति आफूलाई स्वीकार्य नहुने उनले स्पष्ट पारे । मधेसी जनताको जीवनमा सार्थक परिवर्तन ल्याउने आशा र विश्वासका साथ प्राप्त अवसरलाई खेर जान नदिन उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।



















