कोशीमा स्वास्थ्य बीमामा ५७ प्रतिशत नागरिक आबद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २५, बुधबार १९:४४

विराटनगर । कोशी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमको पहुँच क्रमशः विस्तार हुँदै गएको छ । प्रदेशका कुल नागरिकमध्ये ५७ दशमलव ५६ प्रतिशत अर्थात २८ लाख ६१ हजार ८५२ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।

स्वास्थ्य बीमा कार्यालयका प्रदेश संयोजक अर्जुन पण्डितले स्वास्थ्य बीमाको १०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएका हुन् । कार्यक्रममा प्रस्तुत विवरण अनुसार प्रदेशभर पाँच लाख ५७ हजार ७१२ परिवार बीमामा आबद्ध छन् । जुन कुल परिवारको करिब ४९ प्रतिशत हो ।

Advertisement

बीमामा आबद्धमध्ये १९ लाख २५ हजार १९७ जनाले सेवा लिइसकेको र नवीकरण दर ७३ प्रतिशत रहेको पनि बताइएको छ । आर्थिक पक्षतर्फ हेर्दा आर्थिक वर्ष २०८०–०८१ सम्म बीमितबाट ४ अर्ब ९९ करोड १३ लाख ७२ हजार ५७१ रुपैयाँ संकलन भएको छ भने सोही अवधिसम्म १२ अर्ब ७२ करोड ५८ लाख २८ हजार ४०७ रुपैयाँ सेवा प्रदायक संस्थाहरूलाई भुक्तानी गरिएको छ ।

प्रदेशमा हाल बीमा बोर्ड अन्तर्गत ११९ वटा सेवा प्रदायक संस्था सूचीकृत छन् । जसमा ९३ सरकारी, ५ सामुदायिक र २१ निजी संस्था रहेका छन् । साथै बीमा दर्ता सहयोगीको रूपमा १ हजार २६६ जना परिचालित छन् । कार्यक्रम प्रदेशका सबै १४ जिल्लामा विस्तार भइसकेको छ ।

कार्यक्रममा बोल्दै प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू स्वास्थ्य बीमाले नागरिकलाई उपचार सेवामा सहज पहुँच दिलाउनुका साथै सामाजिक सुरक्षा र आर्थिक संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउँछन् । मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रदेश सरकारको थप सहयोग आवश्यक रहेको धारणा राखे ।

स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले स्वास्थ्य बीमाले नागरिकको आर्थिक जोखिम कम गर्ने भएकाले सबै नागरिकलाई आबद्ध गराउन जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागी सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूले उपचार सेवामा कुनै भेदभाव नगरेको दाबी गर्दै बीमाको भुक्तानी समयमै हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.