
काठमाडौं। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनका घटना छानबिन गर्न गठित आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही’ भनेका छन्। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको सोही प्रतिवेदनका आधारमा आफूमाथि फौजदारी अभियोग लगाइएको लेखकको दाबी छ।
सर्वोच्च अदालतको परमादेशपछि १३ दिने प्रहरी हिरासतबाट रिहा भएका नेता लेखकले फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले आफूलाई आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनको आडमा फौजदारी अभियोग लगाएर नियन्त्रणमा राखिएको बताए।
गत भदौ २३ र २४ गतेको घटनाका सन्दर्भमा गठित आयोगको प्रतिवेदनको वैधतामाथि उनले प्रश्न उठाएका छन्। ‘प्रतिवेदनको आधारमा फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु,’ उनले लेखेका छन्।
उनले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैप्रति आभार व्यक्त गरेका छन्। कानुनको पालना गर्ने र न्यायमा विश्वास गर्ने भन्दै बाँकी कानुनी र राजनीतिक लडाइँ जारी रहने समेत उनले बताएका छन्। उनले परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

























