
विराटनगर । विराटनगरमा उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक बनेका सिन्धुली दुधौली नगरपालिका–७ का १९ वर्षीय शिव सदा अन्ततः सहयोग पाएपछि डिस्चार्ज भएका छन् ।
गत २७ चैतमा विष सेवन गरेपछि उनलाई आमा मघिया सदा र श्रीमती कृतिकाले कटारी हुँदै कोशी अस्पताल पुर्याएका थिए । तर, कोशी अस्पतालमा अक्सिजन अभाव देखाउँदै अन्यत्र लैजान भनिएपछि उनलाई विराटनगरस्थित विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । त्यहाँ आईसीयूमा राखेर उपचार गरियो ।
उपचारपछि शिवको ज्यान त जोगियो, तर अस्पतालको ६२ हजार ६०० र औषधिको ७६ हजार ५८६ गरी कुल १ लाख ३९ हजार १८६ रुपैयाँ बिल लाग्यो । विपन्न परिवारले ऋण खोजेर जम्मा १५–२० हजार रुपैयाँ मात्र तिर्न सकेपछि बाँकी रकम नतिर्दासम्म अस्पतालले उनलाई रोकेको थियो ।
यसैबीच, पैसा जुटाउनलाई भनेर आमा मघिया ३ सय किलोमिटर टाढा सिन्धुलीतर्फ पैदलै हिँडेपछि सम्पर्कविहीन बनेकी थिइन् । घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरीले १ लाख रुपैयाँ सहयोग गरे ।
त्यसपछि अस्पतालले २४ हजार १८६ रुपैयाँ छुट दिँदै शिवलाई डिस्चार्ज गर्यो । घर फर्किने भाडासमेत नभएका उनलाई अस्पताल सञ्चालक अजय यादवले २ हजार रुपैयाँ दिए । डिस्चार्जपछि शिवले सहयोगीप्रति आभार व्यक्त गरेका छन् ।



















