
धरान । कोशी राजमार्गअन्तर्गत धरान उपमहानगरपालिका–१३ मा प्रहरीले लागुऔषध गाँजासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटको संयुक्त प्रहरी टोलीले शनिबार बिहान गरेको नियमित जाँचका क्रममा ५९ किलो गाँजा बरामद गरेको हो। भेडेटारबाट धरानतर्फ आउँदै गरेको बीआर १० पीबी २२४१ नम्बरको भारतीय स्कार्पियोलाई शंका लागेर जाँच गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गाडीको सिटमुनि फल्स बटम बनाई लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा गाँजा फेला परेको हो । गाडीसहित भारत बिहारको सुपौल जिल्ला बलुवा बजार–६ का २२ वर्षीय चालक सुबिध कुमार, सोही ठाउँका २२ वर्षीय रोहित कुमार र सुपौल बजार–१ का ४० वर्षीय मोहम्मद जमशेरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















