उपचारको पैसा तिन नसक्दा विराट निदान अस्पतालमा बिरामी बन्धक 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ४, शुक्रबार १४:४०
उपचारको पैसा तिन नसक्दा विराट निदान अस्पतालमा बिरामी बन्धक 

विराटनगर । स्वास्थ्य उपचारपछि तंग्रिएका १७ वर्षीय शिव सदाको अनुहारमा खुसी हुनुपर्ने हो, तर अहिले उनी विराटनगरस्थित विराट निदान हस्पिटल एन्ड ट्रमा सेन्टरको बेडमा आँसु पुछ्दै बसिरहेका छन् । कारण- उपचार त भयो, तर अस्पतालको १ लाख ३० हजार रुपैयाँको बिल तिर्न नसक्दा उनी ‘बन्धक’ जस्तै बनेका छन् ।

उता, छोरालाई अस्पतालबाट छुटाउन पैसाको जोहो गर्न भन्दै ३ सय किलोमिटर टाढा रहेको घरतर्फ पैदलै हिँडेकी उनकी आमा मघिया सदा तीन दिनदेखि सम्पर्कविहीन छिन् ।

Advertisement

सिन्धुलीको दुधौली नगरपालिका–७ पोखरेका शिवले गत २७ चैतमा विष सेवन गरेका थिए । उनलाई तत्कालै आमा मघिया र श्रीमती कृतिकाले अटोमा हालेर कटारी अस्पताल पुर्‍याए । त्यहाँ अवस्था गम्भीर देखिएपछि उनलाई कोशी अस्पताल रिफर गरियो । तर, सरकारी अस्पतालको लापरबाही र अभाव त्यहाँ झल्कियो । ‘अक्सिजन छैन, अन्यत्र लैजान’: भन्ने जवाफ पाएपछि बिरामीलाई एम्बुलेन्स चालकको सुझावमा निजी अस्पताल (विराट निदान) पुर्‍याइयो ।

निजी अस्पतालमा दुई दिनको उपचारपछि शिवको ज्यान त जोगियो, तर परिवारका लागि अर्को पहाड उभियो । अस्पतालले १ लाख ३० हजार रुपैयाँको बिल थमायो ।

अस्पतालको बिल सुन्ने बित्तिकै गरिबीले थिचिएको यो परिवार छाँगाबाट खसे झैँ भयो । कोशी अस्पतालमै औषधि किन्न पैसा नभएपछि आमा मघियाले आफ्नो मोबाइल १५ सय रुपैयाँमा बन्दकी राखेकी थिइन् ।

विराटनगरबाट सिन्धुलीसम्म जाने गाडी भाडासमेत नभएपछि उनी सोमबार गाउँमा ऋण खोज्न भन्दै पैदलै हिँडिन् । तर, तीन दिन बितिसक्दा पनि उनी न घर पुगेकी छिन्, न त परिवारको सम्पर्कमा नै आएकी छिन् । ३ सय किलोमिटरको बाटोमा भौँतारिएकी आमाको अवस्थालाई लिएर परिवार अहिले झन् त्रसित बनेको छ ।

अस्पतालमा कुरुवा बसेकी शिवकी सासू भीम सरिया सदाका अनुसार अस्पतालका कर्मचारी बताउने व्यक्तिहरूले बारम्बार फोन गरेर पैसा नतिरे ‘जे पनि हुन सक्ने’ भन्दै धम्की दिने गरेका छन् । गाउँबाट सापट मागेर अहिलेसम्म २० हजार रुपैयाँ त बुझाइयो, तर बाँकी १ लाख १० हजार रुपैयाँ जुटाउने कुनै बाटो छैन ।

भीम सरिया प्रश्न गर्छिन्, ‘हामी जस्ता गरिब र दलितले के गर्ने ? उपचार नगरे मर्ने, उपचार गरेपछि पैसा तिर्न नसके अस्पतालमै थुनिने ? सरकारी अस्पतालले हेरिदिएको भए आज यो दिन देख्नुपर्ने थिएन ।’

यो घटनाले नेपालको स्वास्थ्य प्रणालीमा रहेको गहिरो खाडललाई पुनः उदांगो पारेको छ । सरकारी अस्पतालमा समयमै उपचार र आवश्यक उपकरण (अक्सिजन) नहुनु र निजी अस्पतालले मानवीय संवेदनाभन्दा बढी व्यापारलाई प्राथमिकता दिनुले गरिब नागरिकको बाँच्ने अधिकार नै धरापमा परेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.