
काठमाडौं । नेपाल र यूएईबीचको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज बराबरीमा टुंगिएको छ। दोस्रो खेलमा नेपालले यूएईमाथि प्रभावशाली जित निकाल्दै सिरिज १-१ को स्थितिमा ल्याएको हो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा १२९ रनको लक्ष्य पछ्याएको नेपालले मात्र २ विकेट गुमाएर सहज जित दर्ता गर्यो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे। उनले ५७ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै अविजित ८४ रन बनाए। त्यस्तै दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहे भने कुशल मल्लले १९ रनको योगदान गरे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो। यूएईका लागि अक्षदीप नाथले अविजित ५३ रनको अर्धशतकीय पारी खेले भने मुहम्मद अर्फानले ३२ र अदीव उस्मानीले ३० रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए। यस्तै हेमन्त धामीले २ तथा नन्दन यादव र साहब आलमले १–१ विकेट हात पारे। यसअघि सोमबार भएको पहिलो खेलमा यूएई विजयी भएको थियो।



















