
काठमाडौं । फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई ४-१ ले पराजित गरेको छ । उसमान डेम्बेले ह्याट्रिक गरेपछि लगातार तेस्रो खेल जितेको फ्रान्स समूह आईको विजेता बनेको हाे ।
फ्रान्सले यसअघि सेनेगलाई ३-१ र इराकलाई ३-० ले पराजित गरेको थियो । २८ वर्षपछि विश्वकपमा फर्ककेो नर्वे भने समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा डेम्बेलेले पहिलो हाफमा ३२ मिनेट भित्रै ह्याट्रिक पुरा गरेका थिए ।
नर्वेले आफ्ना गोल मेसिन एर्लिङ हालान्डलाई आजको खेलमा आराम दिएको थियो । अघिल्लो खेलमा पहिलो रोजाईँमा १० खेलाडी नै परिवर्तन गरेको नर्वेले फ्रान्सलाई टक्कर भने दिएको थियो । दोस्रो हाफमा नर्वेले पेनाल्टी पाएपनि गोल गर्न सकेन ।
डेम्बेलेले खेलको सातौं मिनेटमा पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि २० औं मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।त्यसको एक मिनेटपछि नै नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर डेम्बेलेले ३२ औं मिनेटका गोल गर्दै ह्याट्रिक पूरा गरे भने फ्रान्सलाई ३-१ को अग्रता दिलाए । जारी विश्वकपमा भएको यो तेस्रो ह्याट्रिक हो । यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्यानडा जोनाथन डेभिडले ह्याट्रिक गरेका थिए ।
डेम्बेले फ्रान्सका लागि विश्वकपमा ह्याट्रिक गर्ने पनि तेस्रो खेलाडी हुन् । यसअघि जस्ट फोन्टेनले सन् १९५८ को विश्वकपमा २ र किलियन एमबाप्पेले सन् २०२२ को विश्वकपमा १ ह्याट्रिक गरेका थिए । फ्रान्सका डिजायर डोएले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेका थिए ।



















