
काठमाडौ । सरकारले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर पुनः समायोजन गरेको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सार्वजनिक यातायातको भाडामा ५ प्रतिशतले वृद्धि गरिएको जानकारी दिएको हो ।
इन्धनको मूल्यमा भएको वृद्धिलाई मुख्य आधार मानी भाडा बढाइएको विभागले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिअनुसार नयाँ भाडादर लागू गरिएको हो । यो नयाँ दर दुई वा दुईभन्दा बढी प्रदेश भई सञ्चालन हुने लामो दूरीका सवारी साधनको हकमा मात्र लागू हुनेछ ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भएपछि यातायात व्यवसायीहरूले भाडा समायोजनका लागि दबाब दिँदै आएका थिए । यसअघि सरकारले गत चैत २५ गते मात्रै सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो ।
छोटो समयमै फेरि भाडा वृद्धि भएपछि सर्वसाधारण र उपभोक्ताहरूलाई भने थप आर्थिक भार पर्ने देखिएको छ । विभागले नयाँ भाडादरको विस्तृत सूची समेत सार्वजनिक गरेको छ ।




















